१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी तथा जलाशयमा भक्तजनको भीड



अ+ अ-

पोखरा । हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो । आजको दिन नदी तथा जलाशयमा गई स्नान गरी भगवान् विष्णुको आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

सोही विश्वासका कारण सेती नदी किनारका चिरगादी घाट, रामघाट, नारायणस्थान, लामगादी, दुलैगौंडा पुलचोक लगायतका स्थानमा भक्तजनको भीड लाग्ने गरेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिए । धार्मिक धर्मग्रन्थहरूमा हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशीका रूपमा लिइएको उनले बताए । आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ ।

चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन् । आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । आजैका दिन बहुउपयोगी वनस्पति तुलसीको विवाह गर्ने प्रचलन छ । रामघाट, लागादी लगायतका स्थानमा आज एकादशी मेला लाग्ने भएकाले ती स्थानमा सुन्तला, बदाम, सक्खरखण्डका साथै चोयाका समान बिक्री हुने गरेको छ ।