काठमाडौँ। घरेलु टोली नेपालले जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार भएको समूह चरणको अन्तिम खेलमा इरानले काजखस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

इरानले काजखस्तानलाई २५–२२, २५–२० र २५–२२ ले सहजै हरायो । यो नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । लगातार तेस्रो जितसँगै समूह ‘बी’ को इरान अपराजित रहँदै विजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।

समूह ‘बी’ को इरानले समूह ‘ए’ उपविजेता नेपाल र समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ उपविजेता काजखस्तानलाई सेमिफाइनलमा पाएका हुन् ।

बिहीबार हुने पहिलो सेमिफाइनलमा भारत र काजखस्तान तथा दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

चार टोली सम्मिलित समूहमा इरानले तीनै खेल सोझो सेटमा जित आत्मसात् ग¥यो । यससँगै समूह ‘बी’ उपविजेता नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो ।

समूह ‘ए’ को पनि सोमबार नै समूह विजेता र उपविजेताको टुङ्गो लागेको थियो । भारतले आफ्नो तेस्रो तथा लिगको अन्तिम खेलमा किर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्यो ।

यो जितसँगै भारत समूह विजेता पनि बन्यो । भारतले पहिलो खेलमा नेपाललाई ३–२ को रोमाञ्चक सेटमा हराएको थियो । बाँकी दुई खेलमा भने माल्दिभ्स र किर्गिस्तानले भारतलाई चुनौती दिन सकेन । भारतले पहिलो सेट २५–१५ ले सहजै आफ्नो बनायो । तर, किर्गिस्तानले दोस्रो सेटमा भारतलाई चुनौती दिँदै सेमिफाइनलमा पुग्न सक्ने संकेत गर्यो।

यद्यपि, सेट पोइन्टको अवस्थामा किर्गिस्तानले जोगाउन सकेन । किर्गिस्तान २४–२३ ले अगाडि रहेको अवस्थामा भारतले टाइम आउट लियो । यहीबाट भारतले रणनीति परिवर्तन गर्दै सेटमा फर्कियो ।

लगातार दुई पोइन्ट लिँदै अन्तत् भारतले २६–२४ ले सेट आफ्नो बनायो । यसपछि भने किर्गिस्तान दबाबमा  पर्यो र तेस्रो सेट पनि भारतलाई २५–१४ ले सुम्पिएपछि सेमिफाइनलमा पुग्ने लक्ष्य यसपल्ट पूरा हुन सकेन । समान तीन खेलबाट भारतले आठ अंक, नेपालले सात अंक र किर्गिस्तानले तीन अंक बटुल्यो ।

समूहको पुछारको माल्दिभ्स भने अंकविहीन भएर बाहिरियो । समान तीन खेलबाट समूह ‘बी’ को इरानले ९ अंक र काजखस्तानले ६ अंक बटुले । श्रीलंकाले तीन अंक बटुल्दा बंगलादेश अंकविहिन हुँदै च्याम्पियनसिपबाट बाहिरिन बाध्य भयो ।

लिगको आफ्नो अन्तिम खेलमा श्रीलंकाले बंगलादेशमाथि ३–० को सोझो सेटमा सान्त्वना जितसँगै प्रतियोगिताको यात्रा टुङ्गाएको हो ।–न्युज एजेन्सी नेपाल