२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकका माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम



अ+ अ-

काठमाडाैँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।

दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो ।

विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाको उपप्रमुख सीता थापाले सीपमूलक तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका शाखा अधिकृत पेशलकुमार पोखरेलले आर्थिक रूपमा कमजोर र अवसरबाट टाढा रहेका समुदायलाई प्राथमिकतामा राखेर रातोमाटे माझी बस्ती छनोट गरिएको बताउनुभयो । उहाँले तालिमसँगै उत्पादन र आम्दानी जोड्ने लक्ष्य राखिएको राखिएको समेत बताउनुभयो । तालिममा सहभागी महिलाले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने अपेक्षा गरेका छन् । बस्तीमा रोजगारी तथा आयआर्जनका अवसर न्यून भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सीता माझीको विश्वास छ ।

स्थानीय आइते माझीका अनुसार नगरपालिका क्षेत्रमा परे पनि रातोमाटे माझी बस्ती अझै आधारभूत सेवा सुविधाबाट टाढा छ । तेह्र घरधुरी रहेको बस्तीमा हालसम्म एसइई उत्तीर्ण गर्ने विद्यार्थीसमेत नभएको उहाँको भनाइ छ । कक्षा पाँचभन्दा माथिको अध्ययनका लागि विद्यार्थीले तीन घण्टा पैदल हिँडेर इन्द्रावतीको बडहरे पुग्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको बस्तीवासीको गुनासो छ । बालबालिकालाई नियमित खोप लगाउनसमेत तीन घण्टा पैदल हिँडेर कोडडाँडा पुग्नुपर्ने अवस्था अझै कायम रहेको उनीहरूले बताएका छन् ।