५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

कालापानी क्षेत्रमै भारतीय फौजका आठ क्याम्प, नेपाल प्रहरीका चौकीहरू भने टिक्दै टिक्दैनन्

कालापानी क्षेत्रमै भारतीय फौजका आठ क्याम्प, नेपाल प्रहरीका चौकीहरू भने टिक्दै टिक्दैनन्
अ+ अ-

काठमाडौं । नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । तर, कालापानीभन्दा तल टिंकरको छ्यालेकमा नेपाल प्रहरीको सानो चौकी मात्र छ । जाडो थाम्न नसकेर त्यहाँका प्रहरी छाङरु झरिसकेका छन् । अझ जाडो बढेपछि उनीहरू ५१ किमि तल दुम्लिङ झर्नेछन् । यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति नै शून्य छ ।

नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ ।

छाङरुबाट १२ किलोमिटर पूर्व (चीन)तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।

यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ । यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन् ।

खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् । तर, सदरमुकामबाट टिंकरसम्म सडक अवरुद्ध हुँदा यो वर्ष गस्ती नै निस्किएको छैन । भारतले महाकाली नदीकिनारमा सडक बनाउँदा नेपालतिर दुम्लिङदेखि छाङ्ग्रुसम्मको करिब ६० किलोमिटर बाटो पूर्ण रूपमा अवरुद्ध छ । यहाँका नागरिक भारतीय बाटोबाट आवतजावत गर्न बाध्य छन् । भारतीय सुरक्षा फौज भने कालापानीबाट पनि अघि बढेर टाटा क्षेत्रसम्म गस्तीमा आइरहन्छन् ।

सीमा क्षेत्रको भारतीय बजार धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म भारतले भने १५ स्थानमा २८ क्याम्प बनाएर सुरक्षा फौज तैनाथ गरेको छ । २० क्याम्प भारततर्फ छन् भने आठ क्याम्प नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर राखेको छ । भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुँजी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डियन तिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् ।

कालापानीबाट लिम्पियाधुरातर्फ नाबिढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छन् । गुँजी, कुटी र नाबी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । ती नेपाली नागरिकका बस्ती थिए । बस्ती त अहिले पनि छन्, तर नागरिक सबै भारतीय बनाइएका छन् । नेपालमा मालपोत तिरेका ती गाउँ अहिले भारतीय कब्जामा छन् । विभिन्न सुविधाको ललिपप चखाउँदै नेपालीलाई भारतीय नागरिकता दिलाइएको छ । अहिले पनि उनीहरूलाई रासनदेखि ग्यास, यातायातलगायतमा सुलभ सुविधा छ ।

धार्चुलासम्म आउजाउ गर्न हेलिकोप्टरको सुविधा दिएको छ । धार्चुलातर्फबाट कालापानी क्षेत्रको प्रवेशद्वार छियालेक (भारततर्फ) मा हेलिप्याडसहितको कुमाउ स्काउटको भारतीय सैनिकको गुल्म र एसएसबीको क्याम्प छ । छियालेकबाट तीन किलोमिटर उत्तरतिर पर्ने गब्र्याङमा आइटिबिपी र एसएसबीको क्याम्प छ । छियालेकबाट उत्तरतिर कालापानीसम्म भारतीय सैनिकले नियमित गस्ती गर्छन् । पछिल्लोपटक ५ कात्तिकमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले यो क्षेत्र भ्रमण गरेका थिए ।

नेपालतिरबाट पाकिस्तानी आतंककारीहरूको घुसपैठ हुन सक्ने भन्दै एक महिनादेखि सीमाक्षेत्रमा क्षेत्रमा भारतीय सैनिकहरूको संख्या बढाइएको छ । भारतीय सैनिक क्याम्पमा सामान बोक्ने भरियाहरू छियालेकमा सैनिक संख्या थपिएको बताउँछन् । धार्चुलादेखि कालापानीसम्म भारतले सुरक्षा उपस्थिति झन् शक्तिशाली बनाउँदै लगेको छ । धार्चुलामा प्यारा बटालियनसहित कुमाउ स्काउटको भारतीय सेना, गोर्खा रेजिमेन्टका साथै एसएसबीको टुकडी छ । धार्चुलामै बख्तरबन्द गाडीको ग्यारेजदेखि मर्मतसम्भार केन्द्रसमेत छ ।

धार्चुलाबाट एक किलोमिटर दक्षिणतिर एमआई १७ हेलिकोप्टर उत्रिन सक्ने हवाईमैदान छ । सो क्षेत्रमा दैनिक हवाईसैनिक गस्ती गरिरहन्छ । त्यस्तै, धार्चुलाबाट उत्तरतिर दोबाट, एलागाड, तावाघाट र पाङ्ला गरी चार स्थानमा एसएसबीका क्याम्प छन् । पाङ्लाभन्दा उत्तरतिर घट्टेबगरमा एसएसबी, आइटिबिपी र कुमाउ स्काउटको क्याम्प छ । गर्बाधार र मालपा क्षेत्रमा एसएसबीको क्याम्प राखेको छ । मालपाको उत्तरतिर लामरीमा एसएसबी, आइटिबिपी र कुमाउ स्काउट तैनाथ छन् भने बुदीमा एसएसबी क्याम्प छ ।

धार्चुलामा थप हतियारसमेत भण्डार गरेको छ । भारतले धार्चुलादेखि चीनको सीमा लिपुपाससम्म ९४ किलोमिटर सडक निर्माण गरिरहेको छ । यसमध्ये २७ किलोमिटर नेपाली भूभागमा पर्छ । गुँजी–कालापानी आठ किलोमिटर, कालापानी–नाबिढाङ १० किलोमिटर र नाबिढाङ–लिपुपास ९ किलोमिटर पर्छ ।

सीमा सुरक्षा पोस्ट अलपत्र: गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत–चीन त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने बताउँदै आएका छन् । दार्चुलास्थित सीमाक्षेत्रमा सीमा सुरक्षा पोस्ट (बिओपी) राख्ने प्रक्रिया सुरु भएको ६ महिना बितिसक्यो । तर, अहिलेसम्म स्थापना हुन सकेको छैन । २० वैशाख ०७६ मा वातावरणीय प्रभाव अध्ययनको रिपोर्टसहित प्रतिवेदन दिने भन्दै वन तथा वातावरण मन्त्रालयले चिठी लेखेको भए पनि गृह मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पाण्डेले बताए । नयाँ पत्रिका दैनिकबाट