२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर भारतमा प्राकृतिक विपद्ः भारी वर्षा र चट्याङका कारण ८० भन्दा बढीको मृत्यु



अ+ अ-

काठमाडौँ। उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार यो प्राकृतिक विपद्बाट सबैभन्दा बढी उत्तर प्रदेश राज्य प्रभावित भएको छ ।

भारी वर्षासँगै आएको असिना र तिब्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । विपद्का कारण उत्तर प्रदेशका विभिन्न स्थानमा ठूलो संख्यामा पशुचौपायाको क्षति हुनुका साथै घर तथा अन्य भौतिक सम्पतीमा नोक्शानी पुगेको रिपोर्ट गरिएको छ ।

हजारौं रूखहरू ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको छ । उत्तर प्रदेशको प्रयागराज जिल्ला यस विपद्बाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत आयुक्तहरूलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले पीडित परिवारलाई सम्भावित सबै सहयोग र सहायता उपलब्ध गराउन समेत आदेश दिनुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल