काठमाडौँ। सुदूरपश्चिम प्रदेशका उदय चन्द र कोशी प्रदेशका दिवस शंकरले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा विजयी शुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवारदेखि शुरु भएको प्रतियोगिताको पुरुष सिंगल्समा उदय र दिवसले पहिलो चरण पार गरेका हुन् ।
पहिलो खेलमा उदयले वागमतीका विवेक जोशीमाथि २५–१८, १६–२१ र २१–१७ ले हराए । विजयले भने लुम्बिनी प्रदेशका अनिष थापामाथि २१–७ र २१–९ ले जित रचे ।
नेपाल ब्याडमिन्टन संघको आयोजना भएको प्रतियोगिताको यसै विधामा एपिएफका प्रिन्स दाहाल, त्रिभूवन आर्मी क्लवका प्रफुल महर्जन र गण्डकीका सूजन थापाले पहिलो चरणमा पनि सफलता पाएका छन् । प्रिन्सले मधेशका पवन यादवलाई २१–९, २१–१० को सहज सेटमा पराजित गरे ।
सुजनले वागमती प्रदेशका विवेक जोशीलाई २१–१८, १६–२१ र २१–१७ ले हराउँदा प्रफुलले बागमतीका विपिन के.सी. लाई २१–५, २१–५ को फराकिलो अन्तरले जित रचे । कोशी प्रदेशका मिलन गुरुङले गण्डकीका सक्षम गुरुङलाई २१–१९, २१–१८ ले पराजित गर्दै पहिलो चरण पार गरेका छन् ।
महिला सिंगल्समा कोशी प्रदेशका रोजी राई र निसाम सुब्बाले पनि सफलता पाए । रोजीले बागमती प्रदेशकी सृष्टि श्रेष्ठलाई २१–१४ र २१–१२ ले पराजित गरिन् ।
निशामले लुम्बिनीकी लिला थापामगरलाई २१–१७, २१–१२ ले पाखा लगाइन् । अज्रिका शेरचन (बागमती) ले लुम्बिनीकी भीमिसा बुढाथोकीलाई २१–२, २१–६ को फराकिलो अन्तरले हराइन् । बागमती प्रदेशकी अजरिन्का शेरचनले प्रतियोगिताकै सबैभन्दा एकतर्फी खेल प्रदर्शन गरिन् ।
उनले लुम्बिनीकी भिमिसा बुढाथोकीलाई २१–२ र २१–६ को विशाल अन्तरले पराजित गरिन् । एपिएफकी अस्मिता खत्री र नेपाल पुलिस क्लबकी श्रेया बज्राचार्यले पनि आआफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
अस्मिताले गण्डकीकी आकृति थापा मगरलाई २१–८ र २१–१२ ले हराउँदा श्रेयाले कोशीकी अन्जिला राईलाई २१–१० र १७ को अन्तरले हराइन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव राजीव श्रेष्ठ र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले उद्घाटन गरेका हुन् ।
प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । नेपाल ब्याडमिन्टन संघले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत राष्ट्रिय खेलकुदको स्तर उकास्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली त्रिभवुन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट छनोट भएका करिब एक सय २० खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुँदैछ । प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि सात पुरुष र पाँच महिला गरी १२ खेलाडीको कोटा निर्धारण गरिएको छ । प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य रहने व्यवस्था गरिएको छ ।
संघले प्रतियोगितामार्फत राष्ट्रिय स्तरमा ब्याडमिन्टनको गुणस्तर अभिवृद्धि गर्ने, प्रतिभावान खेलाडी पहिचान गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने तथा प्रदेशस्तरबाटै खेलको व्यावसायिक संरचना सुदृढ बनाउने लक्ष्य राखिएको जनाएको छ ।–न्युज एजेन्सी नेपाल











