८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोप्य रूपमा भारतीय दूतावास जाने डिआइजी गृह मन्त्रालयको छानबिनमा



अ+ अ-

काठमाडौं । कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए ।

डिआइजी प्रवीण श्रेष्ठ र उनले दूतावास अगाडि पार्किङ गरेको गाडी:पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृह मन्त्रालय स्रोत बताउँछ । यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु भएको पुष्टि गरे । स्रोतका अनुसार उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ ।

डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताए । ‘तालिमका लागि हामी भारत गएका थियौँ, फर्किएपछि त्यही विषयमा छलफल गर्न दूतावास गएको हुँ, अरू केही होइन,’ उनले भने । उनी सशस्त्रको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन् । कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न अनुमति लिनुपर्छ । सुरक्षा निकायको उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिइएको गृहका एक अधिकारीले बताए ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ मा को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ ।

अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, डिआइजी श्रेष्ठ दूतावास गएकोबारे गृहकै अधिकारीलाई समेत जानकारी छैन । सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगका कर्मचारीसँग भेट्न अनुमति लिनुपर्ने र अनुमति नलिनेमाथि कारबाही हुने बताए । नयाँ पत्रिका दैनिकबाट