२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकभजन संरक्षण र पुस्तान्तरणमा सक्रिय हुँदै व्यास नगरपालिका



अ+ अ-

तनहुँ। लोकभजन संरक्षण गर्दै पुस्तान्तरणमा व्यास नगरपालिका अग्रसर भएको छ ।

परम्परागत संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले नियमित भजन प्रतियोगिता, सांस्कृतिक उत्सवलगायत कार्यक्रममा नगरपालिका सक्रिय भएको हो ।

पछिल्लो समय आधुनिकतासँगै मौलिक भजन-कीर्तन हराउँदै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले यस क्षेत्रमा विशेष पहल थालेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले विभिन्न वडामा भजन समूहको पहिचान गर्न प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले प्रतियोगिताले भजन समूह बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

“स्थानीय अग्रज, भजन गायक तथा संस्कृतिकर्मीको सहयोगमा पुराना भजन, तिनका धुन र शैली सङ्कलन गर्न यसले मद्दत पुग्नेछ । साथै, युवा पुस्तालाई भजन सिकाउने सहयोग सिद्ध हुनेछ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “लोकभजन हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । यसलाई जोगाउनु र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

नियमित भजन प्रतियोगिता, सांस्कृतिक उत्सव तथा अन्तर पुस्ता संवाद कार्यक्रम आयोजना गरी संस्कृतिको संरक्षण गर्नुपर्ने अवस्था आएको व्यास प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले बताउनुभयो । यसले वृद्ध र युवा पुस्ताबीच सांस्कृतिक आदानप्रदान बढाउन मद्दत पुगेको उहाँको भनाइ छ ।

स्थानीय भजन समूहले नगरपालिकाको पहललाई सकारात्मक रूपमा लिएका छन् । स्थानीयका अनुसार यस अभियानले हराउँदै गइरहेको परम्परालाई पुनर्जीवित गर्न सहयोग पुग्नेछ । व्यास नगरपालिकाको यो कदमले अन्य स्थानीय तहलाई समेत आफ्नो मौलिक संस्कृति संरक्षणमा प्रेरणा दिने अपेक्षा गरिएको छ ।

पराशर आश्रम संरक्षण समितिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा भजन प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा व्यास-५ स्थित जलेश्वर संकिर्तन समूह प्रथम भएको छ ।

व्यास ज्योति धर्म जागरण भजनकीर्तन समूह द्वितीय, आदिकवि भानुभक्त क्याम्पस तृतीय र नव आदर्श आमा समूह सान्त्वना भएका छन् ।

विजेता समूहलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।  रासस