५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

पेटमा अचानक संक्रमण फैलिएपछि सघन उपचारमा प्रधानमन्त्री ओली

पेटमा अचानक संक्रमण फैलिएपछि सघन उपचारमा प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । मिर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलबार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधबार बिहान थप स्वास्थ्य परीक्षण गरेपछि उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् । आइतबार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमबार दिनभरि व्यस्त थिए ।

सम्पूर्ण मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्ने एजेन्डामा अपराह्न ४ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो । प्रधानमन्त्रीले बैठकमा सक्रिय सहभागिता जनाउँदै आयोजना चाँडै नसक्ने ठेकेदारलाई थप ठेक्का नदिन, कृषि अनुदानका नाममा बाँडिएको रकमको विवरण १५ दिनभित्र ल्याउन, युवा स्वरोजगारका नाममा भएको खर्चको विवरण १५ दिनभित्र ल्याउन, काठमाडौंका खाल्डा फागुनसम्म पुर्न निर्देशन दिएका थिए ।

अहिले घोडा एकातिर, बग्गी अर्कोतिर भएको भन्दै चिन्ता व्यक्त गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिचालन गर्न सरकारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए । मंगलबार पनि प्रधानमन्त्रीको व्यस्त कार्यसूची थियो । आइतबार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । सरकारका तर्फबाट उनले खेलाडीलाई ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने तयारी पनि थियो ।

प्रधानमन्त्रीको सम्बोधनलाई महत्वपूर्ण मानेर पोखरा र जनकपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मंगलबार बिहानै काठमाडौं झिकाइएको थियो । तर, बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । यो अस्पतालमा पेटको उपचार हुँदैन । तर, शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आधुनिक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।

प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि डाक्टरहरू निष्कर्षमा पुगे– प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको हो । प्रधानमन्त्रीको उपचारमा संलग्न एक डाक्टरले भने, ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिपरिको भाग र आन्द्रामा समेत संक्रमण पैmलिएमा पेरिटोनाइटिस भनिन्छ । यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षेत्रमा संक्रमण फैलिएको हो ।’

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् । तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको भनाइ छ । ‘एपेन्डिसाइटिस वा पेरिटोनाइटिस अचानक जोसुकैलाई पनि हुन सक्छ । सबै अंग स्वस्थ भएका व्यक्तिलाई पनि यो समस्या हुन सक्छ । त्यसैले उहाँको मिर्गौलाको रोग र अहिलेको समस्याबीचमा कुनै सम्बन्ध छैन,’ उनका एक डाक्टरले भने ।

ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो । तर, यसरी संक्रमण फैलिनु कम जोखिमयुक्त होइन । त्यसैले तत्कालै अप्रेसन गरिएको हो,’ उनले भने । उनका अनुसार अन्य बिरामीको भन्दा प्रधानमन्त्रीको यो समस्या छिटो पहिचान भएको हो । किनकि, अंग प्रत्यारोपण गरिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

शरीरमा केही गडबड हुनासाथ लक्षण छिटो देखापर्छ । शरीरले थेग्न सक्दैन र छिटो प्रतिक्रिया जनाउँछ । त्यसैले प्रधानमन्त्रीलाई पेरिटोनाइटिस भएको पनि छिटो पत्ता लागेको हो । डाक्टरले भने, ‘उहाँको शरीरले पनि छिटो प्रतिक्रिया जनायो, छिट्टै नै पीडा असह्य भयो । त्यसैले पेट दुखेको दुई घन्टाभित्र उहाँलाई अस्पताल ल्याइएको छ, अस्पताल ल्याएको दुई घन्टाभित्र अप्रेसन गरिएको छ ।’ बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ ।

तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’ दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति पmैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने ।

अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् । अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने, ‘उहाँलाई सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको हो । अपर्झट केही पर्न सक्छ भनेर अरू बिरामीको मास्क पनि रातमा निकाल्ने अभ्यास हुँदैन ।’ प्रधानमन्त्रीलाई सामान्य भेन्टिलेटरमा राखे हुने अवस्था भए पनि जोखिम घटाउन इलेक्ट्रोनिक भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

मध्यरातसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । ‘यो भनेको थप बिग्रिएको छैन भनिएको हो, सुधारका लागि त प्रतीक्षा नै गर्नुपर्छ, तर रातिसम्म उहाँको ब्लडप्रेसर नियन्त्रणमा छ, पिसाब ठीक छ र अन्य सूचक पनि ठीक छन्,’ डाक्टरले भने, ‘बुधबार बिहान रगत, पिसाबसहित स्वास्थ्य जाँच हुनेछ । संक्रमण नियन्त्रण भयो कि भएन भनेर त्यसपछि मात्र यकिन हुनेछ । यो संक्रमण निको भएमा प्रधानमन्त्रीले आराम गरे पुग्छ, मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या हुँदैन ।’ नयाँ पत्रिका दैनिकबाट