२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् ।

सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् ।

सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ ।

पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गर्नुभएको बताउनुभयो ।

“सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो,” उहाँले भन्नुभयो, “प्रअहरुले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो ।”

अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरुले मङ्गलबारदेखि नियमित पठनपाठन सुरु गरिसकेका जानकारी दिनुभयो ।

हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो ।

जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले कार्यपालिका बैठक बसेर बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरुको आग्रहमा कार्यपालिका बैठकले १० गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो,” उहाँले भन्नुभयो ।

जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशनविरुद्ध नजाने निर्णय गरेका छन् । देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले विद्यालयको पठनपाठन अगाडि गर्ने भनेर कार्यपालिका बैठक बसेको भए पनि पारित हुन नसकेको बताउनुभयो ।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहहरुले विद्यालय खुलाएका हुन् । एउटै जिल्लामा पनि फरक–फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरु भने अन्यौलमा परेका छन् ।  रासस