काठमाडाैँ ।ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनले एक विशेष कार्यक्रमका बीच यी गाडीहरू हस्तान्तरण गरे। फोटोन कम्पनीका यी गाडीहरू विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जानसक्ने गरी डिजाइन गरिएका छन् ।
४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ । उहाँले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताउनु भयो । महानगरकाअनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन । साथै, सबै गाडीहरूमा न्एक् जडान गरिएको छ, जसले गर्दा गाडीको अवस्था र रुटको रियल–टाइम अनुगमन गर्न सकिनेछ ।
यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उहाँको विश्वास छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख रुपैयाँ वचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ ।











