५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी अभावले पाँचथरको ढुकुरे बस्ती रित्तिँदै, आधाभन्दा बढी परिवार बसाइँ सरे



अ+ अ-

काठमाडाैँ । कुनै समय बाक्लो बस्ती रहेको पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे अहिले सुनसान बन्दै गएको छ। पानीको अभाव र जीविकोपार्जनका कठिनाइका कारण स्थानीयहरू क्रमशः बसाइँ सर्दै जाँदा आधाभन्दा बढी घर खाली भएका छन् भने कतिपय घर भत्किँदै गएका छन्। खेतीयोग्य जमिन पनि झाडीले ढाक्न थालेको छ।

ढुकुरे डाँडागाउँस्थित गर्भवती आधारभूत विद्यालय वरिपरि कुनै समय १३ परिवारको बसोबास थियो। अहिले विद्यालयको माथिल्लो भागमा कालुराम कार्की र तलपट्टि अर्को एक परिवार गरी जम्मा दुई परिवार मात्रै बसिरहेका छन्। यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ। गाउँमा विद्युत् सुविधा पनि विस्तार भइसकेको छ र नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन समेत यहीँ स्थापना गरिएको छ। लखुवा दोभानदेखि गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक कालोपत्रे गर्ने काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। विकासका पूर्वाधार गाउँसम्म आइपुगे पनि मानिस भने गाउँ छोड्दै गएका छन्।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अनुसार छिमेकीहरू एकपछि अर्को गर्दै बसाइँ सरेपछि गाउँ सुनसान बन्दै गएको छ। “मेरो घरछेउका पाँचवटा घरसहित एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती खाली हुँदै गएको छ। अहिले जङ्गलले ढाक्दै लगेको छ। यहाँ बस्नेहरूको मनमा भविष्यप्रतिको आशा पनि कम हुँदै गएको देखिन्छ,” उनले बताए।

कार्कीका अनुसार बसाइँसराइको मुख्य कारण पानीको अभाव हो। “२०७४ सालदेखि केही वर्ष यहाँ पर्याप्त वर्षा भएको छैन। वर्षा कम भएपछि पिउने पानीका मुहान पनि सुक्दै गएका छन्। खानेपानीको निकै अभाव भएपछि यहाँ बस्ने अवस्था नै रहेन,” उनले भने।

ढुकुरेको माथिल्लो भाग मात्र होइन, तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेका छन्। कार्कीका अनुसार डाँडागाउँभन्दा माथिल्लो क्षेत्रमा मात्रै १७ घर खाली भएका छन्। “पहिले ६० भन्दा बढी घर भएको ढुकुरेमा अहिले करिब २५ परिवार मात्रै बाँकी छन्। आधाभन्दा बढी परिवार बसाइँ सरिसकेका छन्,” उनले भने, “सडक र विद्युत् सुविधा पुगे पनि खानेपानी नहुँदा समस्या समाधान हुन सकेको छैन। पानीको समस्या समाधान भए बसाइँसराइ रोकिन सक्थ्यो।”

जमिन सुक्खा भएपछि खेती उत्पादन घटेको छ र आम्दानीका स्रोत पनि कमजोर बनेका छन्। जीविकोपार्जन कठिन भएपछि धेरै परिवारले बसाइँ सर्ने निर्णय गरेका स्थानीयहरू बताउँछन्।

यहाँ करोडौँ रुपैयाँ लगानीमा आङ्ना–मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ। तर आयोजनाले सबै क्षेत्रमा सेवा दिन सकेको छैन। स्थानीयका अनुसार पम्पिङ प्रणाली सञ्चालनमा समस्या हुँदा नियमित पानी वितरण हुन सकेको छैन। “चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्ने हुन्छ। कहिले विद्युत् अवरुद्ध हुन्छ त कहिले मेसिन बिग्रन्छ,” कार्कीले भने, “गाउँपालिकाले सञ्चालन गर्ने भने पनि काम प्रभावकारी रूपमा अघि बढेको छैन।”

कालुराम कार्कीकी श्रीमती सरिता कार्कीले पहिले चहलपहल रहने बस्ती अहिले खाली हुँदै गएको देख्दा दुःख लाग्ने बताइन्। “पहिले छरछिमेक थिए, दुःख–सुख बाँडिन्थ्यो। अहिले खाली घर मात्रै देखिन्छन्। दुःख भए पनि आफ्नै ठाउँको माया लागेर यहीँ बसिरहेका छौँ,” उनले भनिन्।

लखुवा–मौवा सडक नजिकै बस्ने लीला दाहाल भने पानीको अभावका कारण तुम्बेवा–१ कै पसलटार क्षेत्रमा बसाइँ सरेका छन्। “यहाँ नजिकै पानीका मुहान छैनन्। धेरै माथिबाट ल्याइएको सानो पानी सबैले बाँडेर खानुपर्छ। पम्पिङ गरेर पानी ल्याइने भनिए पनि त्यसले काम गरेको छैन,” उनले भने, “त्यसैले पानीको केही सुविधा भएको ठाउँतिर सर्नुपरेको हो।”

छपन्न वर्षीया टुकमाया दाहालका अधिकांश छिमेकी पनि बसाइँ सरेका छन्। “वरिपरिका सबै छिमेकी र आफन्त सरे। हाम्रो मधेसतिर जग्गा छैन, त्यसैले यहीँ दुःख गरेर बसिरहेका छौँ,” उनले भनिन्।

तुम्बेवा–१ आहालेका लालबहादुर घिसिङका अनुसार पानीको समस्या बसाइँसराइको प्रमुख कारण बनेको छ। आहाले क्षेत्रमा २३ परिवारले मुहान सुकिएपछि निकै समस्या भोगिरहेका छन्। “अहिले घण्टौँ लगाएर पानी थाप्नुपर्छ। दिनभरमा चार–पाँच गाग्री मात्रै पाइन्छ,” उनले बताए।

स्थानीय कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो। अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भइसकेको र घरघरमा धारा जडान भए पनि पानी भने हालसम्म आएको छैन। “चुनावअघि पानी आउने भनियो, तर अहिले फेरि चुनाव आउन लाग्दा पनि पानी आएको छैन,” उनले भने।

तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्कीले खानेपानी अभावले दैनिक जीवन निकै कठिन बनेको बताइन्। “ट्याक्टरबाट पानी ल्याएर गुजारा गरिरहेका छौँ। त्यो पनि खोलाको पानी हुन्छ र भनेको बेला पाइँदैन,” उनले भनिन्।

मौवा बजारका सीताराम थापाले पुराना मुहान सुक्दै जाँदा खानेपानी अभाव बढेको बताए। उनका अनुसार आयोजनाले अपेक्षित परिणाम दिन नसक्दा समस्या झन् बढेको हो।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवानका अनुसार तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि पम्पिङ प्रक्रिया केही सहज भएको छ। तर पानी वितरणको व्यवस्थापन अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

“समस्या समाधानका लागि प्रयास भइरहेको छ। पानी वितरणका लागि सबै पक्षको सहकार्य आवश्यक छ,” उनले भने, “समितिसँग मर्मतसम्भार र संरचना निर्माणका लागि पर्याप्त बजेट छैन। गाउँपालिकाबाट बजेट निकासा भएमा आगामी दिनमा यस्तो समस्या दोहोरिने छैन भन्ने आशा गरेका छौँ।”