काठमाडाैँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिई स्वरोजगार बन्ने अवसर प्रदान गर्न लागिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन उद्योग सङ्घ, सिटिइभिटी र घरेलु तथा साना उद्योग कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम प्रदान गरिने जानकारी दिए । उनका अनुसार पहिलो वर्षमा करिब एक हजार २०० जनालाई तालिम दिइनेछ भने अर्को वर्ष बाँकीलाई तालिम उपलब्ध गराइने व्यवस्था गरिनेछ। तालिमका लागि समिति गठन गरी इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क तालिम उपलब्ध गराइनेछ।
प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएका निर्वाचन प्रहरीलाई घरमै नपठाई एउटा प्याकेजसहित बिदाइ गरेका हौँ। यदि तपाईंहरू खाली बस्न चाहनुहुन्न भने सम्पर्कमा आउनुहोस्, निःशुल्क तालिम उपलब्ध हुनेछ।”
निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ गरी जम्मा दुई हजार ७६६ निर्वाचन प्रहरी खटिएका थिए। प्रजिअ अर्यालले उत्कृष्ट काम गरेकामा धन्यवाद व्यक्त गर्दै उनीहरूलाई व्यावसायिक सीप सिक्न आग्रह गरे ।











