नेपालगंजः बाँकेकाे नेपालगंजलाइ केन्द्र बनाएर पत्रकारिता गर्ने अग्रज पत्रकार पन्नालाल गुप्ताको निधन ९२ वर्षकाे उमेरमा बुधबार निधन भएको छ । बुधबार दिउँसोतिर बान्ता भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल भर्ना गरिएकाे थियाे ।

उनको उपचारकै क्रममा साँझ ८ बजेतिर निधन भएको नेपाल पत्रकार महासंघका पूर्व सभापति निरज गाैतमले बताए । नेपालगंज क्षेत्रमा पत्रकार गुप्ता चाचाजी नामले सुपरिचित छन् ।
चाचाजी पत्रकार महासंघ बाँकेका पूर्वसभापति समेत हुन् ।
चाचाजीले प्रकाशन तथा सम्पादन गर्ने किरण साप्ताहिक पश्चिम नेपालकै पुरानो र चर्चित पत्रिका हो । वृद्ध उमेरमा पनि साइकल चढेर हिँड्न रूचाउने चाचाजी बाँकेका पत्रकारहरूका अभिभावक रहेका थिए । उनी नेपाल पत्रकार महासंघबाट सेनानी सम्मानबाट पनि सम्मानित थिए । राजनीति र समाजसेवामा समेत गहिराे अभिरूचि राख्ने चाचाजीकाे निधनले निकै दुःख लागेकाे पत्रकार गाैतमले बताए ।










