१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान
अ अ+ अ-

झापा। यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् ।

सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो अभ्यास अहिले समुदायको दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

समाजका अध्यक्ष कमल मुर्मुका अनुसार हरेक महिनाको पहिलो शनिबार सदस्यहरू भेला भएर बचत सङ्कलन गरिन्छ । “न्यूनतम दुई सय रुपैयाँदेखि सदस्यले आफूले सक्नेजति बचत गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “सानो रकम भए पनि नियमितता नै हाम्रो मुख्य शक्ति हो ।”

तीन वर्षअघि सुरु गरिएको यो बचत अभियानले हालसम्म रु १३ लाखभन्दा बढी रकम सङ्कलन गरिसकेको छ । ज्याला मजदुरीमा निर्भर समुदायका लागि यो रकम सामान्य नभई सामूहिक प्रयासको महत्त्वपूर्ण उपलब्धि हो । सङ्कलित रकम समाजकै सदस्यलाई आवश्यक पर्दा एक प्रतिशत ब्याजदरमा ऋणका रूपमा उपलब्ध गराइन्छ । यसले समुदायभित्र आर्थिक शोषण रोक्न प्रभावकारी भूमिका निर्वाह गरेको अध्यक्ष मुर्मु बताउनुहुन्छ । “बाहिरबाट महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता कम भएको छ”, उहाँले भन्नुभयो ।

बचतकर्ता सपना हेमरका लागि यो व्यवस्था आर्थिक सुरक्षाको आधार बनेको छ । “समस्या पर्दा सजिलै सस्तो ब्याजमा रकम निकाल्न पाइन्छ”, उहाँ भन्नुहुन्छ, “कृषि र घरायसी कामका लागि समय–समयमा ऋण लिनुपर्छ, यही बचतले ठूलो सहयोग गरेको छ ।” आफ्नै समुदायभित्र गरिएको बचत सुरक्षित हुने अनुभूतिसमेत हुने उहाँ बताउनुहुन्छ ।

सपनाको अनुभव एक्लो होइन । अधिकांश बचतकर्ताका लागि यो कोष आकस्मिक आवश्यकता, सन्तानको शिक्षा, उपचार तथा रोजगारीका अवसरका लागि भरोसायोग्य माध्यम बनेको छ ।

अर्का बचतकर्ता वकिल सोरेनका अनुसार समुदायको बचतले जीवनका महत्त्वपूर्ण मोडमा ठूलो सहयोग पुर्याएको छ । “छोराछोरीको पढाइ, विदेश जान, दुःख–बिराम पर्दा यही बचत काम लाग्छ”, उहाँ भन्नुहुन्छ । समाजले वैदेशिक रोजगारीमा जान चाहने परिवारका सदस्यलाई बिनाधितो रु एक लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । धितोको अभावका कारण धेरै सपना अधुरै रहने गरिब तथा मजदुर परिवारका लागि यो व्यवस्था ठूलो अवसर बनेको छ ।

यहाँ बसोबास गर्ने अधिकांश सन्थाल समुदायका मानिस दैनिक ज्याला मजदुरीमा निर्भर छन् । उनीहरू चिया बगान, निर्माण क्षेत्रमा मजदुरी, मिस्त्री, ट्रयाक्टर चालकलगायत श्रमप्रधान काममा संलग्न रहेको सोरेन बताउनुहुन्छ । आम्दानी सीमित भए पनि बचतलाई प्राथमिकता दिनु आफैँमा चेतनशील अभ्यास हो ।

समाजले बचतसँगै पारदर्शिता र विश्वासलाई पनि उत्तिकै महत्व दिएको छ । मासिक भेला, सार्वजनिक हिसाबकिताब र सामूहिक निर्णय प्रक्रियाले सदस्यहरूबीच भरोसा बढाएको अध्यक्ष मुर्मुको विश्वास छ । यसले समुदायभित्र एकताको भावना थप मजबुत बनाएको छ ।

यो अभ्यास आर्थिक पक्षमा मात्र सीमित छैन । यसले सन्थाल समुदायमा सामाजिक परिवर्तनको सङ्केत पनि दिएको छ । समुदायका परिवारहरूले आर्थिक अनुशासन सिक्दै गएको र सहकार्यको भावना बलियो बन्दै गएको हल्दीबारीका पत्रकार नेत्र विमली बताउनुहुन्छ ।

यद्यपि आम्दानी अनियमित हुँदा कहिलेकाहीँ बचत रकम घट्ने चुनौती रहेको छ । तर आपसी समझदारी र लचकताका माध्यमबाट समाजले यसलाई व्यवस्थापन गर्दै आएको छ । भविष्यमा बचत रकमलाई थप व्यवस्थित गर्दै साना उद्यम, कृषि प्रवर्द्धन र सामूहिक लगानीतर्फ लैजाने योजना रहेको अध्यक्ष मुर्मु बताउनुहुन्छ ।

आज जलथलका सन्थाल बस्तीमा बचत केवल आर्थिक क्रियाकलाप मात्र नभई भविष्यप्रतिको आशा बनेको छ । सानो रकमलाई ठूलो सपना बनाउँदै समुदाय आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ । नियमित बचतको यो संस्कारले आर्थिक सुरक्षा मात्र होइन, सम्मान र आत्मविश्वास पनि दिएको छ ।रासस