काठमाडाैंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार भएको ए डिभिजन लिग फुटबल खेलमा च्यासल युथ क्लबले मनाङ विरुद्ध २–० को जित निकालेको छ । यो हारसँगै मनाङको अपराजित यात्रामा धक्का लागेको छ । यससँगै मनाङकाे उपाधि चुम्ने यात्रा समेत कमजोर बनेको छ । जापानी खेलाडी ताइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एकएक गोल गरेपछि च्यासलको जित सुनिश्चित भएको हो । खेलको २४ औं मिनेटमा नाकामुराले फ्रिकिक मार्फत आकर्षक गोल गरेपछि च्यासलले अग्रता लिएको थियो ।
खेलको पहिलो हाफमा १–० को अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्न सफल भयो । कप्तान सहुखलले टोलीका लागि दोस्रो गोल गर्दै २–०को जित निकालेका हुन् । यससँगै लिगको दशौं चरणमा पहिलो हार व्यहोरेको मनाङ १० खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ भने च्यासल १२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।
यस्तै साेमबार नै भएको पहिलो खेलमा जाउलाखेल युथ क्लब विजयी भएकाे छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबमाथि १–० को जित निकालेको हो । जावलाखेलका लागि सुजित बुढाथोकीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खेलमा ब्रिगेड ब्वाइजले पोजिसन राम्रो लिएपनि गोल पोस्टमा आक्रमण गर्न नसक्दा हार ब्यहोर्नुप¥यो ।
यससँगै १० खेलमा जावलाखेल ४ खेल जित र ३ खेल बराबरी खेल्दै १५ अंक सहित छैठौं स्थानमा उक्लिएको छ भने ब्रिगेड ब्वाइज ८ अंकका साथ ११ औं स्थानमा रहेको छ ।