धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्यु्को अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले बताए । ‘हामी घटनास्थलमा पुगिसकेका छौं’ उनले भने, ‘धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि पुग्दै छ । त्यसपछि तथ्य बाहिर आउने छ ।’
वडा अध्यक्ष धामीको शव मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । उनको अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको पञ्च देवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् । उपमेयर चलाउनेले बर्बर ढङ्गले हत्या गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने बताइन् ।
शिक्षक पेसाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित धामीको मृत्यु छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीलाई समेत ल्याउन पहल भइरहेको उनले जानकारी दिइन् । अहिले पनि वडा अध्यक्षको शव घटनास्थलमै रहेको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न नमिल्ने अछामका प्रहरी प्रमुख भारती बताउँछन् ।