काठमाडाैंः तीन राष्ट्र सम्मिलित आइसिसी वर्ल्डकप लिग–२ त्रिकोणात्मक शृखंला बुधबारदेखि नेपालमा आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृखंलाको पहिलो खेल आयोजक नेपालले पाहुना टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताका शृखंलामा सहभागिता जनाउन ओमान र अमेरिकाका खेलाडीहरु नेपाल आइपुगेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी खेलका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । संघका अध्यक्ष चतुरबहादुर चन्दले भर्खरै क्यानका प्रशिक्षकले राजीनामा दिएपनि खेलाडीको मनोबलमा कुनै कमी हुन नदिएको बताउनुभयो ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले बुधबारदेखि हुने खेलका लागि राम्रो तयारी गरेको बताउनुभयो । उहाँले नेपालमै खेल खेल्न पाउँदा उत्साहित भएको र घरेलु मैदानको फाइदा लिने बताउनुभयो । संघका अनुसार नेपालले आफ्नो उद्घाटन खेल बुधबार ओमनसँग खेल्नेछ । माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृखंलमा कूल ६ खेल हुनेछन । हरेक टोलीले समान दुई दुई खेल्ने तालिका रहेको छ ।
नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ गते खेल्ने तालिका रहेको छ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो । सन २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालको यो पहिलो शृखंला हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ ।
ओमान ८ अंकसहित चौथो स्थानमा छ । सन २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृखंला खेल्न लागेको यो पहिलो पटक हो भने समग्रमा नेपालको तेस्रो एक दिवसीय शृखला हो । पहिलो पटक सन २००८ को डिभिजन पाँचमा आमने सामना भएका अमेरिका र नेपाल ११ पटक एक दिवसीयमा आमने सामने भएका छन । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।