काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको आरोपमा १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात विरुद्ध पनि मुद्दा दायर गरिएको छ । भाटभटेनीका संस्थापक व्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । उनीहरुसँगै पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको बताइएको छ ।