काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताउनुभएको छ ।
उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको र आन्दोलनका मागहरूलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
संरक्षक चौधरीले भन्नुभयो,“हामीले यो देशमा चाहेको परिवर्तन, सुशासन र समृद्धि हो । जेनजी आन्दोलनले पनि तिनै माग र मुद्दा अगाडि सारेका छन् । निर्वाचनको माध्यमबाट ती मुद्दा सम्बोधन गर्न सबै लागौँ ।”
उहाँले आफ्नो पार्टीले थारु समुदाय मात्र नभई समग्र उत्पीडित समुदायका मुद्दा उठाइरहेको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा पार्टीसँग ‘जेनजी टु जिरोे’ बीच छबुँदे सम्झौता भएको जानकारी दिइएको थियो ।
उक्त जेनजी समूहले नागरिक उन्मुक्ति पार्टी नेपाललाई साझा पार्टीका रुपमा अंगाल्न तयार भएको संरक्षक चौधरीले जानकारी गराउनुभएको थियो । रासस










