काठमाडौँ, ७ पुस प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच चुनाव केन्द्रित विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले रास्वपाका सभापति लामिछानेसहित पदाधिकारीहरुसँग सकारात्मक वार्ता भएको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले भन्नुभयो, “खास गरेर आजको वार्तामा चुनाव केन्द्रित कुराकानी भयो । चुनावलाई कसरी स्वतन्त्र निष्पक्ष र धाँदलीरहित ढङ्गबाट निर्धारित मितिमै गर्न सकिन्छ भन्ने कुराहरुमा विशेष छलफल भयो र त्यसमा हामीले सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था यी सबैका विषयमा उहाँहरुलाई जानकारी गरायौँ ।”
रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग लिने बारेमा स्पष्ट रुपमा कुरा राख्नुभएको मन्त्री खरेलले बताउनुभयो । रासस










