रौतहट। नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवारका रूपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नाम रौतहट क्षेत्र नं १ बाट सिफारिस गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ बाट यादवसहित चार जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति बैठकको निर्णयअनुसार जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा प्रत्यक्षतर्फ मुख्यमन्त्री यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएको कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसङ्ख्यक तथा खुल्ला समूहबाट आठ जनाको नाम सिफारिस भएको छ ।
प्रचार विभाग प्रमुख गुप्ताले राष्ट्रियसभा सदस्यका लागि चिरञ्जीवीप्रसाद सिंह (अल्पसङ्ख्यक/खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको बताउनुभयो । अन्य क्षेत्रको उम्मेदवारको सिफारिस आइतबार सार्वजनिक गरिने कांग्रेस रौतहट जिल्ला कार्यसमितिका सचिव मिथलेश मिश्रले जानकारी दिनुभयो । रासस










