एजेन्सी । कतारको अल–राया दैनिकले आजबाट सुरु भएको दोहा फोरम सन् २०२५ को महत्त्वलाई विशेष रूपमा उजागर गर्दै, यो फोरम अहिलेको संवेदनशील विश्व परिस्थितिमा अत्यधिक आवश्यक भएको टिप्पणी गरेको छ ।
फोरमले राजनीतिक तनाव, मानवीय सङ्कट र तीव्र प्रविधि–परिवर्तनका बीच विश्वलाई न्यायपूर्ण दिशातर्फ अघि बढाउन योगदान गर्ने विश्वास पत्रिकाले व्यक्त गरेको छ ।
‘दोहा फोरमः अन्तर्राष्ट्रिय न्याय प्रवद्र्धन गर्ने सक्रिय मञ्च’ ले हालको विश्व परिस्थिति र आवश्यकतालाई स्पष्ट रूपमा समेटेको उल्लेख गरेको छ । पत्रिकाका अनुसार, जटिल विश्वयात्रामा राजनीतिक साहस, मानवएकता र सुशासनको आवश्यकता अझ बढिरहेको छ ।
दोहा फोरमले कतारलाई केवल आयोजक मात्र नभई विश्वको भविष्य निर्माणमा सक्रिय साझेदारका रूपमा स्थापित गरेको बताएको छ । २५ वर्षपहिले स्थापना भएको फोरम अब विश्व नेता, विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण केन्द्र बनेको पत्रिकाको टिप्पणी छ । यस वर्ष १६० देशका ६ हजारभन्दा बढी सहभागी र ४७१ वक्ताहरूको सहभागिताले फोरमलाई झनै प्रभावशाली बनाएको उल्लेख छ ।
फोरमका सत्रहरूले मध्यस्थता, गाजा सङ्कट, विश्व स्वास्थ्यका लागि वित्तीय स्रोत, कृत्रिम बुद्धिमत्ताको रणनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्ध जस्ता प्रमुख मुद्दा उठाएको बताइएको छ । यी छलफलहरूले दिगो, सन्तुलित र न्यायपूर्ण विश्व निर्माणका लागि व्यावहारिक समाधान खोज्नु अपरिहार्य रहेको सन्देश दिएको पत्रिकाको निष्कर्ष छ ।
दोहा फोरम २०२५ ले बहुपक्षीय कूटनीतिप्रतिको कतारको दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको र विश्वका गम्भीर चुनौती समाधान गर्न संवाद र सहकार्यको बाटो मजबुत बनाएको अल–रायाले जनाएको छ ।










