२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना



अ+ अ-

काठमाडौँ। स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार ९०० मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट रङ्गशालासहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन, सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा पिछडिएको समुदायलाई सशक्त बनाउनेलगायत विषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

निर्माणाधीन क्रिकेट रङ्गशाला सोही पालिका जन्मथलो भएका चर्चित क्रिक्रेटर सन्दिप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाउँदै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी उक्त क्रिक्रेट मैदानमा प्रतियोगिता सञ्चालन गरी विश्वमाझ अर्जुनचौपारी चिनाउने तयारी थालिएको बताउनुभयो ।

आर्थिक विकास, कृषि उत्पादन, व्यापार र स्थानीय रोजगारी सिर्जना, दीर्घकालीन सांस्कृतिक, सामाजिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने सम्झौतामा उल्लेख छन् । सहकार्यका लागि दुवै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, वेबसाइट, सूचना प्रणाली, रिपोर्टमार्फत नियमित जानकारी आदानप्रदान र स्रोत, साधनको परिचालनका साथै प्राविधिक सहयोग गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

सम्झौतामा पर्यटन, संस्कृति र धार्मिक सम्पदा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्वनका लागि सहकार्य गरिने छ । अर्जुनचौपारीमा रहेको नेपालको पहिलो नवग्रह मन्दिर र अपिहिमाल पालिकामा रहेको अपिहिमालसहित अन्य पर्यटकीय गन्तव्य, उच्च हिमाली पर्यटन, साहसिक र ट्रेकिङ मार्गको विकास र सुरक्षा, सांस्कृतिक कार्यक्रम, जात्रा तथा उत्सव, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन र पर्यटक सुरक्षाका लागि प्राविधिक तालिम, मार्ग र सुविधा विकासमा सहकार्य गरिने सम्झौतापत्रमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रोत्साहन गर्ने व्यवस्थाअनुरुप आफूहरूले यस्तो सम्झौता गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीले बताउनुभयो । रासस