काठमाडौं । नेकपा एमालेले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डको जिम्मेवारी दिएको छ ।
शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा सात वटा फौजदारी मुद्दा खेपेका ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी दिएको हो ।
सिन्धुली घर भएका श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।
प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको पाईएको छ ।
पछिल्लो पटक श्रेष्ठ २६ भदौ २०७५ मा पक्राउ परेका थिए । ठेकदारलाई ज्यान मार्ने धम्की दिएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । त्यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादीमा प्रवेश गरेका उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भएका थिए । पछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए । नेकपा विभाजन भएपछि उनी एमालेमा छन् ।










