काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रवि बोपराले अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ५२ रन बनाए ।
यस्तै, दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए ।
बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । उसका लागि ओपनर प्रियांक पाञ्चालले ९० रनको विष्फोटक इनिङ खेले । ४७ बल खेलेका उनले ६ छक्का र ७ चौका प्रहार गरे ।
यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ’डाउडले २० तथा मार्क वाटले १६ रन जोडे ।
बलिङतर्फ चितवनका सोहेल तनवीर, रवि बोपारा र सैफ जइब एक–एक विकेट लिए ।










