२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समितिमा संसद पुनःस्थापनाबारे बहसः ‘सांसद अधिकार’ खोज्ने की ‘जेन–जी म्याण्डेट’विरुद्ध नजाने’ ?



अ+ अ-

काठमाडौँ । देशव्यापी ‘जेन–जी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ ।

भदौ २३–२४ गतेको नागरिक आन्दोलनले विघटित प्रतिनिधि सभा र सरकारको पतन भएसँगै बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । तर पार्टीभित्र संसद पुनस्र्थापनाको मुद्दाले फुटको बीउ रोप्न थालेको छ । केही नेताहरुको हस्ताक्षर अभियानबाट शुरु भएको यो बहसले काँग्रेसलाई दुई धारमा विभाजित गरेको छ । एकातिर ‘आन्दोलनको म्याण्डेट’ लाई निर्वाचनमार्फत सम्मान गर्ने पक्ष, अर्कोतिर विघटित सांसदहरूको ‘संवैधानिक अधिकार’ खोज्ने अभियान जारी छ ।

केन्द्रिय कार्यालय सानेपामा केही समय यता जारी बैठकमा यो विषयले प्राथमिकता पाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत सहमहामन्त्री तथा केन्द्रिय सदस्यहरूको उपस्थिति छ । सभापति शेरबहादुर देउवा सिङ्गापुरमा उपचाररत रहँदा पनि उहाको निर्देशनमा सांसदहरूको हस्ताक्षर संकलन अभियान चलेको छ । तर महामन्त्री थापाले सोमवार सामाजिक सञ्जालमार्फत ‘फागुन २१ को निर्वाचन नै संवैधानिक बाटो’ भन्दै आपत्ति जनाउनुभएको छ । यो मतभेदले पार्टीको रणनीतिक दिशालाई चुनौती दिएको छ ।

‘जेन–जी विद्रोहको उपलब्धि निर्वाचनमै’: शिवाकोटी

केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी संसद पुनस्र्थापनालाई ‘जेन–जी म्याण्डेट’विरुद्ध ठान्नुहुन्छ । उहाँले केही पूर्वसांसदहरूले हस्ताक्षर संकलन गरेको सुने पनि यो पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पार्नुभयो । देशभर नागरिक आन्दोलित भएको र विद्रोह भएकाले यसको परिणाम स्वीकारेर जानुपर्ने उहाँको तर्क छ । नत्र आन्दोलनको उपलब्धिविरुद्ध उभिएको हुने उहाँको भनाइ छ । निर्वाचनमै जाँदा मात्र जनमतको सम्मान हुने भन्दै उहाँले यसलाई एकमात्र विकल्प ठहर गर्नुभएको छ । यो भनाइले पार्टीभित्र निर्वाचनकेन्द्रित समूहको आवाजलाई बल पु¥याएको छ ।

‘सकारात्मक तर मुख्य मुद्दा होइन’: पराजुली
अर्का केन्द्रिय सदस्य पुष्प पराजुली संसद पुनस्र्थापनालाई सकारात्मक रूपमा हेर्नुहुन्छ । तर पनि यसलाई मुख्य एजेण्डा नबनाउने पक्षमा उहाँ हुनुहुन्छ । कांग्रेसले यसलाई सकारात्मक ढङ्गले लिएको उहाँको भनाइ छ ।
‘धेरै साथीहरू र पूर्वसांसदहरू यसको पक्षमा छन् तर मुद्दा बनाउने कार्यक्रम छैन ।’ उहाँले भन्नुभयो । यो भनाइले पार्टीको आधिकारिक धारणालाई सन्तुलित बनाएको छ ।

‘निर्वाचन वातावरण बनाउन छलफल’: संग्रौला

केन्द्रिय सदस्य डिला संग्रौलाले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार आवश्यकताको सिद्धान्तमा आधारित रहेको बताउनु भयो । उहाँले काँग्रेस अब निर्वाचनतर्फ केन्द्रित हुने बताउनु भयो । फागुन २१ को निर्वाचन घोषणा भइसकेको र सबैतिर निर्वाचन वातावरण बनाएर जाने उहाँको भनाइ छ । बैठकमा यस्ता छलफलले पार्टीको आगामी रणनीतिलाई आकार दिने बताउनु भयो ।

‘सांसदको अधिकार स्वाभाविक’: खड्का

केन्द्रिय सदस्य दीपक खड्काले संसद पुनस्र्थापनालाई सांसदहरूको ‘संवैधानिक अधिकार’ को रूपमा हेर्नुभयो । कानूनी राज्यमा विश्वास गर्नुपर्ने भन्दै उहाँले अदालतको निर्णय पर्खिने बताउनु भयो । यो तर्कले हस्ताक्षर अभियानलाई वैधानिक आधार दिएको छ ।

‘व्यक्तिगत धारणा हो, पार्टी निर्णय पर्खौं’:  बास्तोला

केन्द्रिय सदस्य नानु बास्तोलाले सांसदहरूको हस्ताक्षरलाई ‘व्यक्तिगत अधिकारका रुपमा लिनुभएको छ । पार्टीले औपचारिक निर्णय गरि नसकेको र छलफल जारी रहेको उहाँको भनाइ छ । निर्वाचन मिति घोषित भइसकेको अवस्थामा जनविश्वास पुनस्र्थापना गर्न काँग्रेस निर्वाचनमै जानुपर्ने उहाँको तर्क छ ।

प्रदेश प्रमुखको कदमप्रति आक्रोशः संघीयतामाथि प्रहार ?

बैठकमा मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयले पनि चर्चा पाएको छ । केन्द्रिय सदस्यहरूले प्रदेश प्रमुखको यो कदमलाई ‘संविधान विपरीत’ ठहराउँदै संघीयताको आधार कमजोर बनाउने बताए । प्रदेश प्रणाली खर्चिलो भयो, हटाउनुपर्छ भन्ने जनमत उठिरहँदा यस्तो क्रियाकलापले संघीयता बलियो नहुने नेताहरुको भनाइ छ । यो विषयले राष्ट्रिय राजनीतिलाई बहसमा उतारेको छ ।

काँग्रेसको बैठक कात्तिक २७ सम्म चल्ने नेताहरु बताउँछन् । विशेष महाधिवेशनको माग पनि जोडिएको छ । जसले पार्टीको आन्तरिक सुधारलाई गति दिनसक्छ । जेन–जी विद्रोहको ‘जनम्याण्डेट’ र निर्वाचनको तयारीबीच काँग्रेसले कुन बाटो रोज्छ ? यो प्रश्नले राजनीतिक हलचल बढाएको छ । अन्तरिम सरकारको नेतृत्वमा रहनुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई निर्वाचन सुनिश्चित गर्नुपर्ने दबाब छ । तर काँग्रेसको आन्तरिक द्वन्द्वले राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिनसक्ने अनुमान छ ।