२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता



अ+ अ-

डा. जगमान गुरूङ । वर्तमान विश्वमा द्वन्द्वात्मक भौतिकवाद र समन्वयात्मक अध्यात्मवाद यी दुई चिन्तन प्रचलनमा रहेका छन् ।

द्वन्द्वात्मक भौतिकवाद पश्चिमेली चिन्तन हो । समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अर्थात् पूर्वीय चिन्तन हो । यही समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण एवम् नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकास भएको छ । राज्य एउटा भूमि हो भने राष्ट्र चाहिँ जनताको मानसिक सम्मिलन अर्थात् भावनात्मक एकता हो । त्यस भावनात्मक एकता प्रतिको प्रतिवद्धता र निरन्तरता राष्ट्रियता हो ।

एशिया महाद्वीपको मध्यभागमा पूर्वपश्चिम तेर्सिएर हिमालय पर्वत रहेको छ । हिमालयको दखिनमा भारतवर्ष र उत्तरमा चीन रहेको छ । वर्तमान राजनीतिक भारत भन्दा नेपाल पृथक् छ तर प्राचीन भारतवर्षसँग नेपालको साइनो गाँसिएको छ । भारतवर्षमा भारतीय सभ्यता तथा संस्कृति र चीनमा चिनियाँ सभ्यता तथा संस्कृतिको विकास भएको छ । नेपाली संस्कृतिमा भारतीय एवम् चिनियाँ संस्कृतिको समन्वय पाइन्छ तापनि नेपालको आफ्नै मौलिक सांस्कृतिक वैशिष्ट्य र पहिचान छ ।

वेदाङ्ग ज्योतिष भारतीय ज्योतिषशास्त्रको एउटा विधा हो । वेदाङ्ग ज्योतिषशास्त्र अनुसार वैदिक संवत्सरको प्रवर्तन पौषशुक्लप्रतिपदामा हुन्छ । चिनियाँ–तिब्बती ज्योतिषशास्त्र अनुसार तोल लोसारको प्रवर्तन पनि पौषशुक्लप्रतिपदामा हुन्छ । यसरी पौषशुक्लप्रतिपदाले भारतीय संस्कृति र चिनियाँ संस्कृतिको मिलन गराएको छ ।

नेपालको हुम्लाका जाडहरू पौषशुक्लप्रतिपदाका दिन तोल लोसार मान्दछन् । खसानका खसहरू पौषशुक्लप्रतिपदाका दिन ठूलो भैली खेल्दछन् । जडानका जाडहरूको सेब्रुनृत्यको पदचालनको विधि तथा गीतको भाका र खसानका खसहरूको देउडानृत्यको पद चालनको विधि र गीतको भाका एउटै छ ।

मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्परामा बाह्र भाइ मष्ट र नौ बहिनी भवानी छन् । नौ बहिनी भवानीमा ठिंग्याल्नी र पुंग्याल्नी जस्ता जाड भाषामा नाम रहेका देवीहरू पनि छन् । बाह्र भाइ मष्ट र नौ बहिनी भवानीका मामा लामा–विष्णु छन् । एउटै देवतालाई लामाको रूपमा पनि पूजिने र विष्णुको रूपमा पनि पूजिने हुनाले यस देवताको लामा–विष्णु नामकरण गरिएको हो । यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्म अन्तर्गतको आर्यावलोकितेश्वर र विष्णु भन्नाले वैदिक भगवान् विष्णु हुन् । जुम्ला, सिँजाको लेकपर गाउँमा लामा–विष्णुको थान छ । त्यहाँ बूढाथरका क्षेत्री लामा–विष्णुका धामी छन् ।

लामा–विष्णुको धामी हुने बित्तिकै उनले आफ्नो टुपी फ्याँक्दछन् र लामाको भेषभूषा पहिरेर लामाकै भाषामा पतुर्दछ । लामा–विष्णुलाई खस र जाड दुवै समुदायले बडो सम्मानका साथ मान्दछन् । कर्णाली प्रदेशका जाड र खस दुवै समुदायमा घाँसओडार लामा, होंँडीखोली लामा, खोजेडी लामा र कल्याण लामा पूजनीय छन् । यस क्षेत्रका उपाध्याय ब्राह्मण पर्यन्तले आफ्नो घरमा आयोजना गरेको व्यक्तिगत पूजामा समेत उपरोक्त चार लामाको पूजा गरेर तिनका नाममा आहुति दिने प्रचलन छ । यस प्रचलनले कर्णाली प्रदेशका जनताको मानसिक सम्मिलन गराएर उनीहरूमा सामाजिक, धार्मिक एवम् सांस्कृतिक सद्भाव र सहिष्णुताको भावना जगाएको छ ।

भुवो पर्व कर्णाली प्रदेशका चाडपर्वहरूमा एउटा मुख्य पर्व हो । यस पर्वमा विश्वकर्मा समुदायका व्यक्तिले काठको मुँढो सल्काएर धुनि जगाउँछ र विश्वकर्माले जगाएको धुनि तापेर ठकुरी र ब्राह्मण पर्यन्तले भुवो पर्व मनाउँदछन् । पश्चिम नेपालको धमारीनृत्य र भैलोमा कुनै छुवाछुतको भेदभाव हुँदैन । ब्राह्मणदेखि दलित पर्यन्त सबै हातेमालो गरेर सँगसँगै नाच्दछन् । यसरी भूगोलले भाषा र भेषभूषा अलग अलग बनाए तापनि जडान र खसानको धार्मिक आस्था एवम् सांस्कृतिक अन्तर्वस्तु एउटै छ, जसमा कुनै उच–नीचको भावना पाइँदैन ।

गण्डकी प्रदेशमा आएपछि कर्णाली प्रदेशको लामा–विष्णुले मुक्तिनाथको रूप लिन्छ, जुन मुक्तिनाथ हिन्दू–बौद्ध दुवै समुदायबाट उपासित छन् । हिन्दू धर्मावलम्बीहरू मुक्तिनाथलाई भगवान् विष्णु र बौद्धहरू लोकेश्वर मान्दछन् । मुक्तिनाथको मन्दिरमा हिन्दू धर्मावलम्बी ब्राह्मण र बौद्ध धर्मावलम्बी झुमा दुवैथरी पूजारी छन् । मुण्डेशैलीका घर र गुम्बाहरू भएको हिमालीक्षेत्रमा तल्लेशैलीको मुक्तिनाथ मन्दिरको वास्तुशैलीले विशेष खालको पहिचान राख्दछ । गण्डकी प्रदेशका कोटहरूमा मगर पूजारी र ब्राह्मण पुरोहित छन् । बडादशैँको अवसरमा कालरात्रिको मध्यरातमा मगर पूजारीले कालीलाई भातिको जाँड चढाउँदछ र त्यसपछि ब्राह्मण पुरोहितले सङ्कल्प वाक्य भने पछि कालरात्रिको बलि दिइन्छ । यसरी गण्डकी संस्कृतिमा तागाधारी र मतवालीको विभेद पाइँदैन । समन्वयात्मक संस्कृतिको एउटा राम्रो नमुना गोरखाको मनकामना मन्दिर हो ।

मनकामनाको मन्दिरमा मगर पूजारीद्वारा नित्यपूजा र नैमित्तिक अर्थात् वर्षवन्धनपूजा चाहिँ वज्राचार्यद्वारा सम्पन्न गरिन्छ । मनकामनाको मन्दिर काठमाडौँ उपत्यकाका कालिगडहरूले विकास गरेको तल्लेशैलीको छ । मनकामनाको मन्दिरमा हिन्दू–बौद्ध सबै वर्गका मानिसहरू आ–आफ्नो मनोकामना पूरा गर्न जान्छन् । यसरी मुक्तिनाथ र मनकामनाको पूजारी परम्परा, मन्दिरको वास्तुशैली र त्यहाँ जाने भक्तजनहरूको मानसिकताले एक आपसमा सद्भाव बढाएको छ र यो आपसी सद्भाव नेपाली राष्ट्रियताको विकासका लागि सार्थक कारकतत्व बनेको छ ।
सांस्कृतिक समन्वयको अर्को राम्रो नमुना कुमारी प्रथा हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा कुमारीहरू स्थापना गरिएका छन् तापनि हनुमानढोकाको कुमारीले विशेष महत्व राख्दछ । कुमारीको चयन बौद्ध धर्मावलम्बी शाक्य समुदायको कन्याबाट गरिन्छ । वज्राचार्यले बौद्धतन्त्रअनुसार र कर्माचार्यले शैवतन्त्रअनुसार कुमारीको पूजा गरिन्छ । हनुमानढोकाको कुमारीलाई नेपालको राज्यलक्ष्मीका रूपमा मानिन्छ ।

त्यसकारण इन्द्रजात्राको समापनको अवसरमा अघि नेपालका गद्दीनसिन राजा र अहिले नेपालका राष्ट्रपतिले कुमारीको दर्शन गरेर नेपालको राज्यसत्ता थाम्ने प्रचलन रहिआएको छ । यसैगरी मत्स्यन्द्रनाथले अखण्ड शिव–बुद्ध समन्वयवादको राम्रो उदाहरण प्रस्तुत गर्दछ । काठमाडौँ उपत्यकाका कतिपय शाक्तपीठहरूमा पोडे–पोडेनीहरू देवपालाका रूपमा रहेका छन् । ललितपुर, लगनखेलको वटुकभैरवको मन्दिरमा देवपाला पोडेका छोराछोरीलाई वटुकभैरवको प्रतीक मानेर तिनलाई पैसा र पेडा दिने प्रचलन छ, जहाँ छुवाछुतको कुनै भेद रहेको छैन ।

खोटाङको हलेसीगुफा किरात, हिन्दू, बौद्ध र जैनको आस्थाको केन्द्र हो । हिन्दूहरू यस गुफामा महादेवले तपस्या गरेको मान्दछन् । पारूहाङ अर्थात् महादेव किरातहरूका आराध्यदेव हुन् । बौद्धहरू हलेसीगुफामा वज्रगुरु पद्मसम्भवले तपस्या गरेको विश्वास गर्दछन् । भारतमा अनिकाल पर्दा नेपालतिर पसेका जैनसाधु भद्रबाहुले पनि हलेसीगुफामा साधना गरेको मानिन्छ । नवलपरासीको दाउन्ने डाँडामा मदारनाथको समाधि अवस्थित छ । वास्तवमा यो मदारनाथ मजार अर्थात् सुफी सन्तको दरगाह अथवा समाधि हो । मदारनाथको यस स्थानमा हिन्दू, बौद्ध र इस्लामहरू सबै सँगसँगै मिलेर दर्शन पूजन गर्दछन् । मुसलमानको हातको चुरा, धागो, पोते र टीका लगाएर नेपालका हिन्दू महिलाहरू आफ्नो सधवापनको गौरव गर्दछन् । यसरी समन्वयात्मक नेपाली संस्कृतिले नेपालीहरूको मानसिकतालाई धर्मको घेराबाट बाहिर निकालेर उनीहरूका बीच उदात्तभावको विकास गरेको छ ।

बाराको गढीमाईको पाँचवर्षे पूजामा सबभन्दा पहिले वनारसका डोम राजाले चढाएको राँगाको बलि चढ्दछ । त्यस अवसरमा डोम समुदायको सिद्ध नृत्य प्रस्तुत गरिन्छ । यस नृत्यमा राजपूत र ब्राह्मण पर्यन्तका कोखबन्ध्या महिलाहरूले डोम नर्तकद्वारा उनको कुर्कुच्चाले उल्टो पट्टिबाट आफ्नो धोतीलाई थिचाएर आफ्नो कोख सफल पार्दछन् ।

नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते भक्तपुरमा विस्केटजात्रा र नेपालको सुदूरपश्चिमाञ्चलक्षेत्रमा विषुपर्व मनाइन्छ, किनभने बैशाख १ गतेदेखि सूर्यले विषुवत्रेखा पार गरेर पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गर्दछ । नेवारहरू जनैपूर्णिमा र गाईजात्रामा क्वाटी खान्छन् भने सुदूरपश्चिमाञ्चलका बासिन्दाहरू विषुपर्वमा विरूडा खान्छन् । विभिन्न गेडागुडीहरू मिसाएर पकाएको परिकारलाई नेपाल भाषामा क्वाटी र सुदूरपश्चिमाञ्चलको भाषामा विरूडा भनिन्छ । यसरी विस्केटजात्रा, विषुपर्व, क्वाटी र विरूडाले नेपालमण्डल र सुदूरपश्चिमाञ्चललाई एकताको सूत्रमा बाँधेको छ । मान्छे टाढा भएपनि मन टाढा हुँदैन भनेको यही हो, किनभने मान्छे टाढा भएपनि मन मिलेपछि मेला हुन्छ र मान्छे नजिक भए पनि मन मिलेन भने ठेलमठेला हुन्छ । अहिले नेपालमा यही ठेलमठेलाको परिस्थिति सृजना भएको छ । नेपालमण्डल र सुदूरपश्चिमको सांस्कृतिक अन्तरसम्बन्ध एउटा प्रतिनिधि पात्र मात्र हो । नेपालमा यस्ता प्रशस्त उदाहरणहरू पाइन्छन् । डडेलधुराको चौलो, नेपालमण्डलको चालं र गुल्मी तथा अर्घाखाँचीको सरायमा एकरूपता पाइन्छ । यसैगरी राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा विविध समुदायका युवाहरू मिलेर नाच्ने सेरङ्गेनाच, मधेशका थारूहरूको मजुरनाच र भक्तपुरका नेवार युवाहरूको लुसिप्याखँमा सामञ्जस्यता पाइन्छ । यो नै नेपालीहरू बीचको अपनत्व र समन्वयात्मक नेपाली संस्कृतिको विशेषता हो ।

यसैगरी प्रत्येक वर्ष नयाँ वर्षको उपलक्ष्यमा चैत मसान्तको मध्यरातमा सिराहको सलहेस फुलबारीको हारमको रुखमा मालाको आकारको फूल फुल्दछ । बैशाख १ गते दिनभर उक्त फूल ताजा रहन्छ र बैशाख २ गतेदेखि फूल ओइलाउन थाल्दछ । बैशाख १ गते सलहेस फूलबारीमा र बैशाख २ गते मिथिलाक्षेत्रका सलहेस मन्दिरहरूमा मेला लाग्दछ । सलहेस फूलबारीमा दनुवार र अरु सलहेस मन्दिरहरूमा दुसाध पूजारी छन् । सलहेस फूलबारीमा फुलेको यो फूलको माला सलहेसका प्रेमिकाले उनलाई दिएको प्रेमोपहार हो तर यो केवल मायाप्रीतिको मात्र कुरा नभएर आपसी सद्भावको प्रतीक पनि हो । यसरी सलहेस फुलबारीको हारमको फूलले प्रत्येक वर्ष नयाँ वर्षको सुखद उपलक्ष्यमा हामीलाई प्रेम र आपसी सद्भावको सन्देश दिइरहेको छ । मानिस जातले ठूलो र सानो हुँदैन, उसको आफ्नो आदर्श र मर्यादाले उनलाई महान् बनाउँदछ । सलहेस स्वयं दुसाध समुदायका हुन् तर आफ्नो आदर्श र मर्यादाले उनी महाराज कहलाएका छन् । अतः सलहेस महाराजको आदर्श र मर्यादाको पालन गरेर एकआपसमा सद्भाव र सहिष्णुताको भावना बढाउनु आजको हाम्रो परम कर्तव्य र उत्तरदायित्व हो ।

नेपालको मधेशक्षेत्रमा चिडिमार समुदायको बसोबास पाइन्छ । नेपालगञ्जक्षेत्रका चिडिमारहरू हिन्दू धर्मावलम्बी छन् भने मिथिलाक्षेत्रका चिडिमारहरू इस्लाम धर्मावलम्बी छन् । इस्लाम धर्मावलम्बी भए तापनि मिथिलाक्षेत्रका चिडिमारहरूले हिन्दू देवी देवताका गाथा गाउँदछन् । मिथिलाक्षेत्रका राजपूत एवम् ब्राह्मण पर्यन्तले विभिन्न पर्व पर्वणी एवम् शुभ कार्यहरूमा ती इस्लाम चिडिमारहरूलाई आफ्नो घरमा बोलाएर हिन्दू देवी देवताको गाथा गाउन लगाउँदछन् । यसरी मैथिली समुदायमा जातीय दलन र धार्मिक अन्तरद्वन्द्वको भावना पाइँदैन ।

मङ्सिरेपूर्णिमाका दिनमा नेपालका नेवारहरू धान्यलक्ष्मीको पूजा गरेर योमरि खान्छन् । त्यही दिनदेखि लिम्बुहरूको धाननाचको शुभारम्भ हुन्छ । त्यही दिन बाहुन–क्षेत्री र गुरूङ–मगरले गोठमा गैडुपूजा गर्दछन् । बैशाख शुक्लपूर्णिमाका दिन गुरूङ र मगरहरूले चण्डीपूजा गरेर घाटुनाचको विसर्जन गर्दछन् र राईहरूको चण्डीनाचको शुभारम्भ चण्डीपूर्णिमा अर्थात् बैशाखशुक्लपूर्णिमा कै दिनदेखि हुन्छ । अघि बैशाखशुक्लपूर्णिमाका दिन देवी भगवतीले चण्डनामक दैत्यको वध गरेर चण्डी कहलाएका थिए । त्यसैले बैशाखशुक्लपूर्णिमा चण्डीपूर्णिमाको नामबाट प्रख्यात भएको हो । अतः चण्डीपूर्णिमा अर्थात् बैशाखशुक्लपूर्णिमाका दिन कतिपय समुदायको देवालीपूजा पनि हुन्छ । बैशाखशुक्लपूर्णिमा कै दिन बुद्ध र गोरखनाथ जन्मेका हुन् र यी दुवै नेपालका धर्तीपुत्र हुन् ।

नेपालको पहाड खण्डमा मनाइने तीज, पश्चिम पहाडको गौरापर्व, मिथिलाक्षेत्रको मधुश्रावणी र थरूवानमा मनाइने जितिया पर्व महिलाहरूको सौभाग्य वृद्धिका लागि मनाइने पर्वहरू हुन् । महिलाहरूको भाग्य भनेको आफू र सौभाग्य भनेका श्रीमान् हुन् । अतः महिलाहरूको भाग्यभन्दा पनि सौभाग्य बलवान् हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । यसरी यी तीनवटै पर्वमा नेपाली महिलाहरूको अन्तरवेदना र सम्वेदनशीलताको भावना अन्तर्निहित छ ।

हिमालको जल र पहाडको मलले हाम्रो मधेश उर्वर बनेको छ । त्यसैले पहाडमा दाईँ हाल्दा हिमालको सह लेऊ, माल मधेशको सह लेऊ वरद हो भनेर गोरु घुमाउने प्रचलन छ । कास्की, पोखरा, बाटुलेचौर र राप्ती अञ्चल सल्यान, खलङ्गा गाइनटोलाका गन्धर्वहरूले हिमालको डाँफे र मधेशको मुरली चरीको विवाह गराएर कर्खा रचेका छन् । रोल्पाली मगरहरूमा चाहिँ डाँफे र मजुरको कथा प्रचलित छ । अतः डाँफे र मुरलीको कर्खा हिमाल, पहाड र मधेशको भावनात्मक एकताको प्रतीक हो, किनभने धोति पनि हाम्रै हो, टोपी पनि हाम्रै हो । धोतिले हाम्रो लाज छोप्छ र टोपीले हाम्रो सान बढाउँदछ । धोति न टोपि भयो भने मान्छे कङ्गाल हुन्छ । त्यसैले आफू कङ्गाल हुने काम हामी कसैले पनि गर्न हुन्न । अहिले नेपाली संस्कृति कचपचिएको छ, नेपाली राष्ट्रियता धमिलिएको छ र नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अहिले सबैलाई आ–आफ्नो जातीय पहिचान चाहिएको छ तर जातीयता भन्दा राष्ट्रियता ठूलो हुन्छ । जातीय स्वाभिमानभन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेशभन्दा सिङ्गो र एकढिक्का राष्ट्रको महŒव बढी हुन्छ । हिमाल, पहाड, नेपालमण्डल र मधेश–तराईका नेपालीहरू बीचको आपसी सद्भाव र सहिष्णुताबाट नेपाली राष्ट्रियता बलियो भएको छ । नेपाल अनेकतामा एकता भएको राष्ट्र हो । यिनै अनेकतामा एकता भएका विविध जातिको स्वच्छ हृदयको मधूर स्पन्दनको सङ्गम नै बृहत् नेपाल राष्ट्रको प्राण हो । अतः जातीय एवम् साम्प्रदायिक धरातलबाट माथि उठेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियता प्रति प्रतिबद्ध र समर्पित हुनु आजको परम आवश्यकता हो । नेपाल राष्ट्र हाम्रा पूर्खाहरूको धरोहर हो, किनभने हाम्रा पूर्खाहरूले बडो दुःखले नेपाल राष्ट्रको निर्माण गरेका थिए । अतः हाम्रा महान् पूर्खाहरूको धरोहर नेपाल राष्ट्रको अस्मितालाई हामी सबै मिलेर जोगाउनु पर्दछ । समन्वयात्मक नेपाली संस्कृतिले देखाएको समन्वयको बाटोमा हामी सबै नेपालीहरू सँगसँगै मिलेर अघि बढ्यौँ भने नेपाल राष्ट्र सधैँ अखण्डित र सुदृढ हुनेछ, किनभने समन्वयात्मक नेपाली संस्कृतिले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जन्माएको छ ।

नेपाल पार्वतीले रचना गरेको शिवको देश तथा सीता र बुद्धको जन्मभूमि हो । यस्तो पवित्र धर्तीमा जन्म लिन पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो । टर्कीका राष्ट्रपति अहमदले नेपाललाई विश्वको आध्यात्मिक केन्द्र मानेका छन् तर हामीलाई त्यसको केही वास्ता छैन । अतः आजको सन्दर्भमा हामीले विदेहको दर्शन, सीताको आदर्श, रामको मर्यादा, बुद्धको अहिंसा, त्याग र सहिष्णुतालाई राम्ररी मनन गरेर तन्मे मनः शिव सङ्कल्पमस्तुको भावनाबाट ओतप्रोत भई नेपाल राष्ट्रको सुदृढीकरण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकासका लागि अघि बढ्न अत्यावश्यक छ । सरल नेपाली जीवनको प्रत्येक मुटुको ढुकढुकीले यही कुरा भनि रहेको छ । त्यसकारण हामी सबै मिलेर वाचा गरौँ वयं राष्ट्रे जागृयाम पुरोहिता : (हामी राष्ट्रमा अग्रगामी भई जागौँ) ।




भर्खरै