५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु



अ+ अ-

मुस्ताङ। मुस्ताङको कोरलानाकामा एक वर्षअघि स्थापना भएको अध्यागमन कार्यालयले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

नेपाल–चीनबीचमा रहेको कोरलानामा २०८० साल कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो । त्यसपछि २०८१ साल कात्तिक १४ गते अध्यागमन कार्यालय स्थापना भएको थियो । यद्यपि सेवा भने सुरु भएको थिएन ।

कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले आजदेखि अध्यागमन कार्यालयको सेवा सुरु भएको जानकारी दिनुभयो । कार्यालयबाट सेवा लिएर आजै लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१३ जना जनप्रतिनिधिमण्डल कोरलानाका हुँदै एक साताका लागि चीनका ल्हासातर्फ प्रस्थान गर्नुभएको कार्यालय प्रमुख बडुवालले बताउनुभयो ।

“यस अध्यागमन कार्यालयबाट पहिलोपटक सेवा लिएर लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङसहित छ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङसहित सात गरी १३ जना जनप्रतिनिधिको टोली चीनको ल्हासा र कैलाश पर्वतका लागि प्रस्थान गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार उक्त अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराइनेछ । यद्यपि सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि ५०० डलर प्रवेश शुल्क तोकेकाले केही प्राविधिक समस्या भने हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

कोरलानाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले अध्यागमन विभागले तोकेका अन्य शुल्क बुझाएमा भिसा निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।

कोरलानाका–ल्हासा–कैलाश पर्वतसम्मको पर्यटनमार्ग प्रवद्र्धन

मुस्ताङको कोरलानाका हुँदै चीनको ल्हासा र कैलाश पर्वतसम्म पर्यटनमार्ग प्रवर्द्धनका लागि संयुक्त पहल सुरु गरिएको छ ।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरूङकोे नेतृत्वमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १३ जना जनप्रतिनिधिको टोली पर्यटनमार्गको प्रवर्द्धनका लागि एक साता लामो चीनको ल्हासा हुँदै कैलाश पर्वततर्फ प्रस्थान गरेको हो ।

उक्त पहलले लोमन्थाङका साथै हिमाली क्षेत्रको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष गुरुङले आफूहरूले व्यक्तिगत खर्चमा ल्हासा र धार्मिक पर्यटकीयस्थल कैलाश पर्वतको भ्रमणमा निस्किएको बताउनुभयो ।