२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई देशको साझा छठघाट



अ+ अ-

महोत्तरी। महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ ।

बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि हो ।

छठ मिथिला क्षेत्रको आस्थाको महापर्व मानिन्छ । प्राचीन मिथिला क्षेत्रमा दशगजापारिको भारतको मधुवनी जिल्ला पनि पर्छ । दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठघाट निर्माण गरेका हुन् ।

“माझमा दशगजाले दुई देश छुट्याएको छ, तर हाम्रा वेशभूषा, भाषा, संस्कृति र चाडवाड समान छन्”, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो ।”

भोलि शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ । चार दिनको यो लोकआस्थाको महापर्वमा आइतबार ‘खरना’ सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिनेछ । अहिले नेपाल–भारतको यो साझा घाट सजाउन नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण जुटेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अघ्र्य (अर्घ) दिनेछन् । यस घाटमा दुवैतर्फ (नेपाल–भारत)का गरी दुई हजार बढी बर्तालुले अघ्र्य दिने बताइएको छ ।

यहाँको छठघाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी बताउनुहुन्छ । सझुकाघाटमा अघ्र्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अघ्र्य दिउञ्जेलसम्म बर्तालु र उनका परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्नेछन् । रासस