
काठमाठौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको यो स्टाटसको आजकल व्यापक चर्चा छ । आफ्ना पार्टी सभापति शेरबहादुर देउवाको विषयमा उनले आफ्नो फेसबुक वालमा लेखेको यो स्टाटसको धेरैले चर्चा गरेका हुन् । मानिसहरु गाइँगुईँ गर्दैछन्, यसरी आफ्ना सभापतिका बारेमा कांग्रेसका महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले यस्तो प्रशंसा कहिल्यै गरेका थिएनन् ।
समाचार स्रोत भन्छ, अझ ठूलो चर्चा त कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छ आजकल । किनभने देउवा परिवारले अहिलेसम्म विश्वप्रकाशको सकारात्मक सन्देश अहिलेसम्म पढ्न पाएको थिएन रे ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेस पार्टीभित्र ट्वीटे नेता भनेर चिन्ने गर्दछन् । पार्टीका नेताहरुमा सबैभन्दा बढी सामाजिक सञ्जालमा लेख्ने, रमाउने नेता यी दुई हुन् । उनीहरुका फलोअर पनि छन् र कुनै न कुनै तर्क या विचारले आफ्ना फलोअर तथा पार्टीका नेता कार्यकर्ताहरुलाई अड्याइराख्ने पनि गर्दछन् ।
तर उनीहरुले पार्टी नेतृत्वका बारेमा भने जहिल्यै आलोचना गर्ने गर्दथे । सभापति देउवाका बारेमा उनीहरुले जहिले पनि आलोचना र विरोध गर्ने गर्दथे । बजारमा खपत हुने खालका अभिव्यक्ति राख्थे र बुढा पुराना नेताहरु अब समाजले पचाउन सक्दैन भनेर तर्क गर्ने गर्दथे ।
देउवाले बडो शान्त र सौहार्द रुपमा पदत्याग गरेको घोषण गरे । सभापति देउवाले कार्यबाहक अध्यक्ष पद उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे । देउवाले सो पद हस्तान्तरण गरिरहँदा र आफ्ना धारणहरु राखिरहँदा पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको केन्द्रीय कार्यालय स्थलमा मात्र होइन कि सामाजिक सञ्जालभरि नै सकारात्मक सन्देश प्रसार भयो ।
आज पनि सामाजिक सञ्जालमा मानिसहरु लेखिरहेका छन्— प्रजातान्त्रिक संस्कार र व्यवहार भनेको यस्तो हुन्छ । आफैँले कुटपिट र दुर्व्यवहार सहेर पनि कांग्रेस जस्तो ठूलो पार्टीका सभापतिले दिएको यो अभिव्यक्ति बडो सान्दर्भिक र सम्मानित छ ।
यस्तै विचार महामन्त्री गगन थापाले पनि सभापति देउवाले ठूलो त्याग गरेको भनेर भाषण नै गरे । त्यसलाई पछ्याउँदै बुधबार विश्वप्रकाशले देउवाप्रति सम्मानभाव प्रकट गरेको अभिव्यक्ति दिए ।
हिजोका दिनमा आफ्नै पार्टी नेतृत्वका बारेमा कहिल्यै पनि निकटस्थहरुका बारेमा उनीहरु कहिल्यै सकारात्मक सन्देश दिने गरेका थिएनन् ।
तुलनात्मक रुपमा थापाभन्दा शर्मा देउवाप्रति बढी आलोचक थिए । किनभने थापा यस अघिल्लो सरकारमा सरकार सञ्चालनको संयन्त्रमा पनि थिए, यसैले आलोचना त गर्थे तर बडो बचेर । त्यसैले पनि हिजो शर्माले दिएको यो अभिव्यक्तिप्रति देउवा र उनका निकटस्थहरु अचम्ममा परेका छन् ।
हिजोको केन्द्रीय समितिको बैठकमा पनि नेपालमा सामाजिक सञ्जाल मार्फत् निराशाको र नकारात्मकताको खेती बढी नै गरिएको विषयमा चर्चा भएको थियो । त्यसको तिर दुई महामन्त्रीद्वयप्रति पनि थियो ।
केन्द्रीय सदस्यहरुले कानेखुसी गर्दै भनेका थिए— सामाजिक सञ्जालमा यो भएन, त्यो भएन भनेर निराशाको बीउ छर्ने काममा यी दुई ट्वीटे महामन्त्रीको पनि हात छ ।










