काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि हमास लडाकुहरूले मुक्त गर्न लागेको २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेका छन् । तर उक्त सूचीमा नेपालका विद्यार्थी विपिन जोशीको नाम भने छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सोमबारभित्र छाडिने भनिएका २० जना सबै इजरायली नागरिक भएको जानकारी दिएका छन् । उनले भने, “मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम छैन । अहिले पनि उनको अवस्थाबारे ठोस जानकारी प्राप्त भएको छैन ।”
अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध अन्त्य गर्दै बिहीबार युद्धविराम सहमति भएको हो । सहमतिको पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने उल्लेख छ ।
कञ्चनपुरका विद्यार्थी विपिन जोशी गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि त्यतिबेलैको पुरानो भएको राजदूत पण्डितले बताएका छन् ।
उनका अनुसार इजरायली अधिकारीहरूसँग लगातार सम्पर्कमा रहेर विपिनको अवस्था बुझ्ने प्रयास भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि विपिनको अवस्थाबारे बुझ्ने प्रयास जारी रहेको जनाएका छन् । मन्त्रालय स्रोतका अनुसार इजरायली पक्षबाट विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउन सक्ने बताइएको छ ।










