२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालले समेत बिरामी भर्ना लिएन



अ+ अ-

काठमाडौं । पेट सुन्निएर छटपटाइरहेका बुबालाई एम्बुलेन्सबाट बिहीबार बिहान वीर अस्पतालको आँगनमा ल्याइपुर्‍याउँदा मकवानपुर पालुङका कमल गोपालीले राहतको सास फेरेका थिए, बुबाको शीघ्र उपचार हुने अपेक्षा गरेका थिए । तर, देशकै पुरानो र भव्य अस्पतालले बिरामीलाई उपचार गर्नुको साटो भर्नासमेत नगरेर थप यातना दियो । अस्पतालको आँगनमा खुला आकाशमुनि उनका बिरामी बुबा छटपटाएर रात बिताउँदै छन् । निरीह र विवश कमल कुरुवा छन् ।

कमलका बुबा केदारलाई १५ दिनअघिदेखि पेट सुन्निने र दुख्ने समस्या देखिन थालेको थियो । सुरुमा उनीसहित परिवारका सदस्यले सामान्य ठाने । तर, हिँडडुलसमेत गर्न नसक्ने गरी दुख्न थालेपछि चार दिनअघि पालुङकै स्थानीय अस्पतालमा लगे । त्यहाँको अस्पतालले काठमाडौं लैजान सुझायो । लकडाउनका कारण यातायात ठप्प थियो, त्यसैले घरमै फर्किए । तर, बुबाको समस्या बढ्दै जान थालेपछि कमलले बिहीबार एम्बुलेन्सबाट उनलाई काठमाडौं ल्याए । ‘बुबाको पीडा बढ्दै जान थालेपछि आज बिहान पाँच हजार तिरेर एम्बुलेन्सबाट यहाँ ल्याएको हुँ,’ साँझ वीर अस्पतालको आँगनमा भेटिएका उनले भने ।

बिहान साढे १० बजे वीर अस्पताल पुग्नेबित्तिकै कमलले बुबालाई आकस्मिक कक्षमा लगे, किनभने सहन नसक्ने गरी पीडा भइरहेको थियो । तर, त्यहाँका डाक्टरले टिकट काटेर डाक्टरलाई देखाउन भन्दै ओपिडीतर्फ पठाए । टिकट काटेर पालो कुर्दै उनी बुबालाई लिएर डाक्टरसम्म पुगे । डाक्टरले भिडियो एक्सरे र इसिजी गर्न तथा रगत र पिसाब जाँच गर्न सिफारिस गरे । केही औषधी पनि लेखिदिए । यी सबै गर्दा दुई हजार पाँच सय खर्च भयो । तर, अन्तिममा डाक्टरले भने ‘भोलि दिउँसो दुई बजे आउनू । रिपोर्ट आउँछ अनि मात्रै के भएको हो, थाहा हुन्छ ।’ बिरामी बुबालाई भर्ना गरिदिन कमलले डाक्टरसँग हारगुहार गरे । तर, केही लागेन ।

कमल फेरि आकस्मिक कक्षमा गएर गुहार मागे । ‘बिरामी बुबालाई भर्ना गर्दिनुहोस्’ भन्दै बिन्ती गरे । लकडाउनका कारण कतै जान पनि नसक्ने समस्या पनि सुनाए । तर, पनि उनको कुरा कसैले सुनेनन् । ‘बाहिर कुर्ची, बेन्चमा बस्नुस्, भर्ना गर्न मिल्दैन भनेर पठाए,’ निरीह देखिएका कमलले भने, ‘बुबा पीडाले एक पाइला पनि सार्न सक्नुहुन्न, एम्बुलेन्समा त उहाँलाई च्यापेर ल्याएको हुँ, यो खुला आकाशमुनि कसरी रात बिताउने होला रु’

तर, कमलसँग अर्को विकल्प पनि थिएन । त्यसैले अस्पतालको आँगनमा रहेको काठको बेन्चमाथि झोला सिरानी राखेर बुबालाई पल्टिन लगाएका छन्, भोलि ९शुक्रबार० दिउँसो रिपोर्ट आउने प्रतीक्षामा ।

१२ दिनकी सुत्केरी सानेपाबाटै हिँड्दै प्रसूतिगृह
काठमाडौंको थापाथली चोकस्थित बन्द पसलको सिँढीमा सुस्ताइरहेकी थिइन् सानेपाकी मधु राई । १२ दिनकी सुत्केरी उनी सुई लगाउन आमासँगै हिँडेर थापाथलीस्थित प्रसूतिगृह आएकी हुन् । हिँड्न नसकेर गलेपछि थकाई मार्न सिँढीमा बसेकी थिइन् । ‘गाडी चलेका छैनन्, ट्याक्सी पाइँदैनन् । एम्बुलेन्स पनि व्यस्त छन् । केही नपाएपछि बाध्य भएर पनि हिँड्नैपर्‍यो,’ मधुले भनिन् ।

नयाँ पत्रिकाले मधुसँग कुरा गरिरहँदा थापाथली चोक हुँदै पुल्चोकतिर झन्डावाल गाडी हुँइकिँदै थियो । आँखाबाट गाडी कटेपछि उनले भनिन्, ‘दुःख बेसाउने त हामीले मात्र हो, यिनीहरूलाई केही हुने होइन, गाडी कुदाएर हिँडेकै छन् ।’

प्रसूतिगृहमा अचेल नियमित चेकजाँच गराउन आउने गर्भवतीको संख्या घटेको छ । तर, सुत्केरी हुन आउनेको संख्या भने घटेको छैन । सवारीसाधन र एम्बुलेन्स नपाएपछि गर्भवतीहरू रिक्सा चढेरै पनि अस्पताल आइरहेका छन् । रिक्साचालक कमल गुरुङले लकडाउन भएयता मात्र चारजना गर्भवती महिलालाई प्रसूतिगृह पुर्‍याइसकेको बताए । लकडाउनले गर्दा कमलको ड्युटीजस्तै बनेको छ, गर्भवतीलाई अस्पताल लैजाने र अस्पतालबाट घर पुर्‍याउने ।

प्रसूतिगृहको नर्सिङ विभागकी प्रमुख आशालक्ष्मी प्रजापतिले भने गर्भवतीलाई गम्भीर अवस्थामा मात्र अस्पताल आउन सुझाब दिएको बताइन् । ‘टाउको दुखेमा, पेटमा बच्चा नचलेमा, पानीको फोका फुट्यो वा रगत बग्यो भने मात्र अस्पताल आउनुहोस् भनेका छौँ,’ उनले भनिन् । अन्य अवस्थामा भने अस्पतालमा फोन गरेर डाक्टरको परामर्श लिन सकिने व्यवस्था गरेको उनले बताइन् ।

लकडाउनले उपत्यकाबाहिरका बिरामी बढी प्रभावित

काठमाडौं उपत्यका मात्र होइन, प्रसूतिगृहमा उपत्यकाबाहिरका बिरामी पनि छन् । उनीहरूलाई लकडाउनले बढी प्रभाव परेको छ । गोरखाको मान्पुबाट गर्भवती बुहारी लिएर आएकी विष्णुमाया गुरुङ आइसियूबाहिर बुहारी निको हुने पर्खाइमा छिन् । ‘६ दिन भयो यसरी भोकभोकै बस्न थालेको,’ उनले भनिन् । लकडाउनले सबै चिज बन्द छन् । अस्पतालको क्यान्टिन खुला छ । तर, बुहारीको उपचारमा खर्च नपुग्ने हो कि भनेर विष्णुमाया आफू भोकै बसिरहेकी छिन् । १३ हजार रुपैयाँ त उनले एम्बुलेन्सको भाडा मात्र तिरिन् । ‘यहाँको औषधि खर्चको त कुरै नगरौं,’ विष्णुमायाले भनिन्, ‘गाउँबाट पैसा पठाइदेऊ भनौँ, सबै बन्द छ । पेटले खाना मागिरहेको छ । अझै कति दिन राख्ने हो, थाहा छैन ।’, समाचार नयाँ पत्रिका देनिकमा प्रकाशित छ ।