काठमाडौं । विश्वमा कोरोना भाइरस महामारी नियन्त्रणमा आएको छैन । यो फैलिँदो क्रममा छ । युरोप र अमेरिकामा संक्रमित र मृत्युदर दैनिक बढिरहेका छन् । कोरोना भाइरसका कारण दैनिक ज्यालादारीदेखि मासिक तलब बुझ्नेसम्मका सबै व्यक्तिको जीवन कष्टकर बन्न थालेको छ ।
धेरैजसो राष्ट्र लकडाउन भएकाले कर्मचारीको पेसा संकटमा परेको छ । अमेरिकी एजेन्सीका अनुसार अमेरिकामा मात्र कोरोना भाइरसका कारण एक करोड ६८ लाख व्यक्तिले काम गुमाउने अवस्था सिर्जना भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको रिपोर्ट मान्ने हो भने विश्वमा दुई अर्ब व्यक्ति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा श्रमसँग सम्बन्धित छन् । यसैकारण विश्वमै दैनिक ज्यालादारीदेखि मासिक पारिश्रमिक थाप्ने कर्मचारीको पेसा जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ ।

अमेरिकामा बेरोजगारी प्याकेज लिने धेरै
अहिले अमेरिकामा पार्टटाइम काम गर्नेहरू कामविहीन भएका छन् । अमेरिकाको श्रम ब्युरोले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार एक करोड ६८ लाख व्यक्तिले बेरोजगारी प्याकेज सहायता लिन आवेदन दिएका छन् । पछिल्लो दुई सातामा अमेरिकामा डेढ करोड व्यक्ति बेरोजगार बन्ने अवस्थामा पुगेको श्रम ब्युरोले जनाएको छ । गत साता ६६ लाख व्यक्तिले बेरोजगारी प्याकेजका लागि श्रम विभागमा आवेदन दिएको एजेन्सीहरूले जनाएका छन् । समग्रमा अमेरिकाका ४० राज्यका व्यक्तिले बेरोजगारी प्याकेज लिन आवेदन दिएका हुन् ।
भारतमा ४० करोड व्यक्ति प्रभावित
प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेसँगै बेरोजगारी संख्या अकल्पनीय रूपमा बढेको छ । धेरैजसो पार्टटाइम काम गर्ने व्यक्तिहरू बेरोजगारीको सिकार भएका छन् । भारतीय समाचार एजेन्सीहरूका अनुसार यो संख्या ४० करोडको हाराहारीमा छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को एक रिपोर्टअनुसार कोरोना भाइरसले असंगठित क्षेत्रमा काम गर्नेहरू बढी प्रभावित छन् ।
जर्मनीमा २१ लाख बेरोजगार हुने सम्भावना
जर्मनी कोरोना भाइरससँग लडिरहेको छ । यो भाइरसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ । जसका कारण जर्मनीमा बेरोजगारको संख्या बढिरहेको छ । जर्मन सरकारको एक तथ्यांकअनुसार अहिलेसम्म पार्टटाइम काम गर्ने ६ लाख ५० हजार व्यक्ति बेरोजगार भइसकेका छन् । उनीहरूले आफूले पहिले काम गरेको कम्पनीमै पुनः काम गर्न पाऊँ भनी आवेदन दिएका छन् ।
जर्मनीमा अहिले देखिएको समस्या २००८–०९ को आर्थिक मन्दीभन्दा पनि ठूलो हो । जर्मन फेडरल लेबर एजेन्सीले कोरोना भाइरसका कारण जर्मनीमा दिन–प्रतिदिन बेरोजगारको संख्या बढेको बताएको छ । कोरोना भाइरस नियन्त्रित नहुँदा जर्मनीमा आउँदो केही साताभित्र २१ लाख व्यक्ति बेरोजगार हुने लेबर एजेन्सीको दाबी छ । आर्थिक मन्दीको समयमा जर्मनीमा १४ लाख व्यक्तिले रोजगारी गुमाएका थिए ।
क्यानडामा १४ लाख व्यक्तिले काम गुमाए
अमेरिकासँगै क्यानडामा पनि कोरोना भाइरसका कारण कामदार कामविहिन भएका छन् । यहाँ अहिलेसम्म १४ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । मार्चको तेस्रो सातासम्म क्यानडामा दुई लाख २० हजार व्यक्तिको काम गुमेको थियो । अहिले अप्रिलको दोस्रो साता चलिरहँदा यहाँ थप सात लाख ८० हजार व्यक्तिको जागिर गुमेको एजेन्सीहरूले जनाएका छन् । क्यानेडियन सरकारको डाटाअनुसार सन् १९७६ पछि पहिलोपटक यति धेरै संख्यामा यहाँ कर्मचारीले जागिर गुमाएका हुन् । नयाँ पत्रिका दैनिकबाट











