५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना



अ+ अ-

गुल्मी। कालीगण्डकी करिडोर सडक र मदन भण्डारी राजमार्गको सङ्गमस्थल, गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले पाल्पा र गुल्मीका दुईवटा मुख्य सडकको सङ्गमस्थल रिडीमा सुरक्षा पोस्ट स्थापना गरिएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेटअन्तर्गत उक्त अस्थायी पोस्ट निर्माण गरिएको हो । आज जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले एक कार्यक्रमबीच नवनिर्मित प्रहरी पोस्टको उद्घाटन गर्नुभयो ।

त्यस क्रममा उहाँले अपराध न्यूनीकरण, शान्तिसुरक्षा प्रवर्द्धन र नागरिक–प्रहरीबीचको एकता  तथा सहकार्यलाई सुदृढ गर्न अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा रूरूक्षेत्र गाउँपालिका‐१ का वडाध्यक्ष नवराज बिकले धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रिडी र आसपास सुरक्षाका लागि प्रहरी पोस्ट स्थापनाको माग गरेअनुसार काम भएको बताउनुभयो ।