५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

दलहरूले देखाएनन् सच्चिने छनक, पुस्तान्तरणमा बेरुची कि अझै लोभ ?

दलहरूले देखाएनन् सच्चिने छनक, पुस्तान्तरणमा बेरुची कि अझै लोभ ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । जेन–जी पुस्ताले गरेको विद्रोह सफल भएपछि राजनीतिक दल नेतृत्वको शक्तिशाली भनिएको सरकार गल्र्यामगुर्लम ढलेको मात्र छैन, नेताहरु जनतासामु मुख देखाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।

पटकपटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सेनाले नै संरक्षण दिएर राख्नुपर्‍यो । जेन–जी विद्रोह सफल भएपछि उनीहरुको घर तोडफोड र आगजनी भए । कांग्रेस सभापति देउवा र पत्नी आरजुमाथि त कुटपिट नै भयो ।

तीन वटै दलका अरु नेताहरुको भागाभाग भयो । धेरै नेताको घर खरानी भए । नेताहरुलाई जेन–जी युवाहरुले खोजीखोजी भगाए । विद्रोह सफल भएपछि नागरिक सरकार गठन भएको छ । संविधान र राजनीतिक व्यवस्था चाहिँ कायमै छ ।

भ्रष्टाचारविरुद्ध युवाहरुले गरेको आन्दोलन दुई दिनमै सफल भयो । विशेष गरी लामो समयदेखि सत्तामा हालीमुहाली गरेर आएका नेताहरुले भ्रष्टाचार रोक्न नसकेको, सुशासन कायम गर्न नसकेको भन्दै जनता सडकमा उत्रिएका हुन् । विद्रोहमा उत्रिएका युवाहरुले संविधान र व्यवस्थाको विरोध गरेका होइनन् । तर भ्रष्ट नेता र उनीहरुको कार्यशैलीको विरोध गरेर खोजीखोजी धपाएका हुन् ।

अहिले नयाँ सरकार गठन भएपछि राजनीतिक दलका नेताहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । तर उनीहरुको हठ अझै सकिएको छैन । अहमता कायमै छ । सामाजिक सञ्जाल हुँदै अहिले सार्वजनिक मञ्चबाटै आफू ठीक तर अरु बेठिक भन्न थालेका छन् ।

जेन–जीको विद्रोहपछिको एक साताका अभिव्यक्ति हेर्दा उनीहरु सच्चिने संकेत देखिएको छैन । नेतृत्व नसच्चिएकाले दल पनि सच्चिन्छन् भन्ने आधार देखिएको छैन । लामो समयदेखि सत्ता र शक्तिमा रमाउँदै आएका तर युवाको विद्रोहपछि किनारा लागेजस्ता देखिएका दलका शीर्ष नेता अझै नेतृत्वबाट अलग हुने मनसायमा देखिँदैनन् ।

पार्टीहरुभित्र पुस्तान्तरणको झिनो आवाज उठे पनि तत्काल शीर्ष नेतृत्वलाई बहिर्गमनको उपाय खोजिएकै छैन । बरु यिनै नेताहरुलाई सही भन्ने भाष्य निर्माण गर्न थालिएको छ । त्यसले गर्दा दलहरु अझै सुध्रिने छाँट नदेखिएको हो ।

जेन–जी युवाको विद्रोह सफल भएपछि शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नेबारे कुनै निर्णय गर्न सकेन ।

बरु नेताहरुले सभापति शेरबहादुर देउवालाई नै सही भन्ने ठहर गरे । जेन–जी युवाले उठाइरहेको पुस्तान्तरणको नारालाई आत्मसाथ गर्नुका सट्टा अहिलेकै नेतृत्व उचित भन्दै कार्यवाहक नतोक्ने, विशेष महाधिवेशन पनि नगर्ने निर्णय भयो ।

कांग्रेसको यो निर्णयले देउवालाई अझै नेतृत्वमा रमाउने मात्र होइन, अवसर पाए फेरि सत्ता सञ्चालन गर्ने रहर भएको देखिन्छ । २०४८ सालमा पहिलो पटक गृहमन्त्री बनेका देउवा त्यसयता पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनलाई अझै प्रधानमन्त्री बन्ने रहर पुगेको छैन । आफू नेतृत्वमा रहँदा देश र जनतालाई के दिएँ भन्ने उनले भुलेका छन् । आफ्नो शासनकालमा भएका भ्रष्टाचार र कुशासनका कारण युवा विरत्तिएको उनलाई कत्ति पनि लागेको छैन ।

देउवालाई तत्काल नेतृत्व पुस्तान्तरण गर्न सीमित नेताले मात्र भनेका छन् । बरु धेरै जसो उनलाई चोख्याउन नै केन्द्रित छन् । त्यसले पनि पनि कांग्रेस सच्चिहाल्ने अवस्थामा छैन । अझ भनौं कांग्रेसको चेत अझै खुलिसकेको छैन । यही नेतृत्व लिएर कांग्रेस चुनावमा गएपछि मात्र उसले आफ्नो हविगत थाहा पाउने छ । त्यसबेलासम्म कांग्रेसभित्रका आशालाग्दा भनिएका नेताहरुप्रति पनि जनताको मोह भंग भइसक्ने छ ।

कुरा कांग्रेसको मात्र होइन, नेकपा एमालेको अवस्थामा पनि उस्तै छ । तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै हठका कारण पछिल्लो परिस्थिति सिर्जना भएको आम बुझाइ छ । ओली आफूले लिएका निर्णय र चालेका कदम सही भन्दै दोष जति अरुलाई वा अमूक पात्रतर्फ थुपारिरहेका छन् ।

यथास्थितिमा अघि बढ्न नसकिने भन्दै एमालेको ठूलो तप्काले ओलीको बहिर्गमन चाहेको भए पनि उहाँको रणनीति पार्टीमा पुस्तान्तरण गर्नुको सट्टा आगामी महाधिवशेनबाट पनि आफैं नेतृत्वमा पुग्ने देखिन्छ । युवा नेताहरु भने ओलीको अनुहार लिएर निर्वाचनमा जानै नसकिने बताइरहेका छन् ।

ओलीले आफ्नो आलोचना सुन्नै चाहेका छैनन् । प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै सेनाले उद्धार गरेर १० दिनभन्दा बढी संरक्षण दिएको थियो । तर फर्किएपछि उनले आफ्नो गल्ती कतै स्वीकारेका छैनन् । बरु आफू नै जेन–जीको प्रतिनिधि भए जसरी माग पूरा गर्ने पहल गरिरहेको अभिव्यक्ति दिएका छन् ।

ओलीले आफ्नै कारण जेन–जी विद्रोह भयो र सत्ता गयो भन्ने बुझेका छैनन् । त्यति मात्र होइन, आफ्नै कारण व्यवस्थामाथि नै प्रश्न त उठिरहेको छैन भन्ने पनि उनले बुझ्न खोजेका छैनन् । नेतृत्व पुस्तान्तरणको विषय त उनले झन् सुन्नै चाहँदैनन् । अर्को एक कार्यक्रम पनि एमालेको अध्यक्ष हुने रहर साँचेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त झन् जेन–जीको विद्रोहपछि प्राप्त उपलब्धिको जस नै आफैं लिन तल्लीन छन् । नेतृत्व छाड्ने कुरा कसैले गरे त्यो सुन्नसमेत उनी तयार छैनन् ।

उपमहासचिव उपमहासचिव जनार्दन शर्मासहितका नेताहरुले दाहालको राजीनामा माग गरिरहे पनि त्यसलाई अस्वीकार गर्दै उनले संविधान नै आफैंले बचाएकोसम्मका भाषण दिन थालिसकेका छन् । दाहालले अहिलेका घटनाक्रमको सबै दोष एमाले अध्यक्ष ओलीमाथि थोपरेका छन् ।

३२ जनाको जादुयी नम्बर लिएर सत्ताको सधैं च्याँखे थापिरहने बानीले पनि जनतामा वितृष्णा उत्पन्न हो भन्ने महसुस दाहालले गरेका छैनन् । बरु आफ्नो पार्टीभित्रै आलोचना गर्नेहरुलाई कहिले कारबाही गर्ने त कहिले निस्कासनसम्मको हर्कत उनले गरिरहेका छन् । झन्डै साढे ३ दशकदेखि पार्टी नेतृत्वमा र १५ वर्षभन्दा लामो समयदेखि सत्ताको वरिपरी घुमिरहेका दाहाललाई अझै देशमा केही गर्ने हुटहुटी छ । तर पटक–पटक सत्तामा पुगेर पनि केही गर्न नसकेकोमा उनले माफी माग्न सकेका छैनन् । न त पार्टीको नेतृत्वबाट नै बिदा लिने मनसाय छ ।

कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुमा इतिहास देखाएर तर मार्ने चाहना छ । जबकी इतिहास बनाइसकेपछि उनीहरुले अर्को पुस्तालाई देश बनाउने अवसर दिनुपर्ने हो । त्यो उनीहरुको मनमा कहिल्यै आएको देखिँदैन । बरु आफैं सत्तामा पुग्ने र ओगट्ने काम मात्र गरिरहेका छन् । सत्तामा पुगेपछि जनतालाई परिवर्तनको महसुस गराउने काम गर्न उनीहरुले कहिल्यै गर्न सकेनन् ।

२०६३ सालदेखि आलोपालो सत्ताको नेतृत्व गरेका यी दललाई लोकतन्त्रको रक्षा, संविधानको संरक्षण, कार्यान्वयन र व्यवस्थाको जगेर्ना गर्ने काम आफ्नै ठेक्का हो भन्ने छ । जबकी जेन–जी आन्दोलनले यी सुधार र पुनर्गठन नभए यी दलको औचित्य समाप्त भइसकेको पुष्टि गरिदिइसकेको छ ।

आन्दोलनले नेताहरुलाई सबक सिकाएको छ । इतिहासको बखान गरेर मात्र केही हुँदैन भन्ने प्रमाणित गरेर जेन–जीहरुले गरिसकेका छन् । तर अझै पटकपटक सत्ता र शक्तिमा पुगेका दलका शीर्ष नेताहरुले त्यो बुझ्न सकेका छैनन् । बरु आफू नभए देश नै डुब्छ भने जसरी मख्ख छन् र नेतृत्व पुस्तान्तरण सुन्नै चाहँदैनन् ।

नेतृत्वको यही हठ कायम रहे आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताले यिनै नेताको मुख हेरेर भोट हाल्ने छैनन् । समाजले परिवर्तन खोजेको छ । देशले सुशासन चाहेको छ । युवा पुस्ताले भ्रष्टाचाररहित समाजको परिकल्पना गरेको छ । तर कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दलको पुरानै नेतृत्व आफूबाहेकको विकल्प देखिरहेको छैन । यही अवस्था रहे आगामी निर्वाचनमा यी दललाई भारी पर्न सक्छ ।