२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयहरु अनलाइन कक्षा सञ्चालन गर्दै, १० विश्वविद्यालयले मन्त्रालयमा प्रतिवेदन बुझाए



अ+ अ-

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फ्रेन्समार्फत सबै विश्वविद्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । त्यही बेला मन्त्री पोखरेलले मन्त्रालयमा आ–आफ्नो पढाइ शुरू गर्ने योजनासहित प्रगति विवरण पेस गर्न निर्देशन दिएका थिए । लगत्तै मन्त्रालयमा सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको थियो ।

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव रामशरण सापकोटाले सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको र सोहीअनुसार काम शुरू गरिसकेको जानकारी गराए । उनका अनुसार मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको, केही विभागले कार्ययोजना निर्माण गरिसकेको जनाएका थिए ।त्यस क्रममा अधिकांश विश्वविद्यालयले मेडिकल र ननमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेको विवरण पेस गरेका छन् । पोखरा विश्वविद्यालयले अनलाइनबाट पढाउन शुरू गरेको र करिब ९ सय विद्यार्थीलाई कोरोना भाइरस रोकथामको गर्न स्वयंसेवकका रूपमा परिचालन गराएको प्रतिवेदन दिएको छ ।

काठमाडौं विश्वविद्यालयले मास्क र सेनिटाइजर उत्पादन गरी विभिन्न निकायमा निःशुल्करूपमा वितरण गरेको, अनलाइन कक्षा सञ्चालन, ज्वरो क्लिनिक र कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको उल्लेख गरेको छ । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले सेनिटाइजर निर्माण गरी वितरण गरेको, माइक्रो बायोलोजी, सिभिल, कृषि, सूचना प्रविधिलगायतका विषयका कक्षा अनलाइनमार्फत सञ्चालन गरेको र ३ सय ४६ जना स्वयंसेवक परिचालन गरेको उल्लेख गरेको छ । कृषि तथा वन विश्वविद्यालयले अनलाइन कोर्स सञ्चालन गरेको र विभिन्न क्षेत्रमा १ सय ७५ स्वयंसेवक परिचालन गरेको प्रतिवेदन मन्त्रालयमा पेस गरेको छ । सो विश्वविद्यालयले तितेपातीबाट सेनिटाइजर निर्माण गरी बिक्री शुरू गरेको जनाएको छ ।

महाशाखा प्रमुख सापकोटाले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार काम भइरहेको जानकारी दिए । उनले भने– ‘सबै विश्वविद्यालयले आफ्नो योजनाअनुसार तालिका तयार गरी पेस गरेका छन् ।’ नेपाल संस्कृत विश्वविद्यालयको मुख्यालयमा कोरोना भाइरस उपचार केन्द्र रहेका कारण तत्काल पढाइ सुचारु गर्न कठिन भएको जनाइएको छ । लुम्बिनी बौद्ध र राजर्षी जनक विश्वविद्यालयले योजना बनाइरहेका छन् । सहसचिव सापकोटाले सबै विश्वविद्यालयलाई सम्भव भएसम्म अनलाइन, टिभी, एफएम र अन्य कुनै पनि माध्यमबाट पढाइ शुरू गर्न निर्देशन दिएको बताए । मन्त्रीज्यूको निर्देशनअनुसार १० वटै विश्वविद्यालयले आ–आफ्नो योजना पेस गरेको महाशाखाले जनाएको छ । नेपाल समाचारपत्र दैनिक