१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ



फाईल फोटो
अ+ अ-

देश अहिले शून्यतामा छ, र आज शान्त पनि । तर मुर्दा शान्ति जस्तो । आफ्नै अगाडि सयौँ बर्षको राजनैतिक इतिहासको विरासत बोकेको सिंहदरबार ढलेको देखेका नागरिक कोही बोल्न नसकेर मुर्दा शान्तिको अवस्थामा छन् ।

त्यतिमात्र होइन कि राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै भौतिक रुपमा खरानीमा परिणत भएका छन् । ती संरचनामा उडिरहेको धुवाँ नियाल्दै आँशु पुछिरहेका देशबासीले यही खरानीलाई सिंचेर भोलि हरियाली बनाउने प्रण गर्नै सकिरहेका छैनन् । यो आडभरोसा उनीहरुका मनमा कहीँ कतैबाट आउन सकिरहेको छैन ।

जेन्जी पुस्ताका केही प्रतिनिधि पात्रहरुले सामाजिक सञ्जालबाट शान्तिपूर्ण आन्दोलनको आह्वान गरे । तर उनीहरुको ख्यालख्यालैको शान्तिपूर्ण भनिएको त्यो आन्दोलनले काठमाडौँ मात्र नभएर देशैभरि यसरी आगो झोस्यो कि अब त्यसको जिम्मेवारी लिने कोही छैन । त्यसले हिंसात्मक रुप लिएपछि मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेको छ । यसको पनि जिम्मेवारी लिने लाइनमा कोही छैन ।

तर, आन्दोलनको जस लिने र प्रधानमन्त्री बन्न चाहनेको भिड भने दिनदिनै बढ्दै गएको छ । आज त्यही भिड आर्मी हेड क्वाटर अघि देखिएको मात्रै होइन, को प्रधानमन्त्री बन्ने भन्ने प्रतिस्पर्धाको झडप नै देखियो ।

यही दृश्यले झन् निराश बनाएको छ देशबासीलाई । जसले सुशासन, न्याय र नयाँ पुस्ताको नेतृत्वको नारा दिएर आन्दोलनको घोषणा गरे र मुलुकमा यतिविधि भयो, त्यसपछि त साँच्चिकै परिवर्तन होला कि भन्ने झिनो आसा पलाउँदै गरेका जनतामा त्यो दृश्यले तुषारापात गराएको छ । अब पनि केही हुँदैन भन्ने निराशामै रहेका जनताले जलेका संरचना र ढलेका मनहरुको टेको पाउन सकेका छैनन् ।

अझै पनि जे भयो भयो, भावी सन्ततिका लागि मन दह्रो पारौँ भन्ने भावनाका साथ अघि बढ्नु त छँदैछ, यसैमा अहिल्यै अब हिजो र अस्तिको दिन आउन नदिनका लागि कहिँ कतैबाट अर्काे विद्रोह या हिजोको जस्तो निराशा बाँकी नराख्ने गरी अघि बढ्न सोच्नुपर्नेछ ।

अहिले शासकीय शून्यतामा रहेको देशमा नेतृत्व छनौटको प्रक्रिया सुरु भएको अवस्था छ । प्रधानमन्त्रीले राजीनामा दिइसकेका छन् भने नेताहरु सेनाको ‘सुरक्षा’ घेरामा छन् । तिनले हिजोका दिनमा लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र कसरी बचाउने भन्ने साना स्वरहरु कुनाकाप्चाबाट निस्किए पनि बुलन्द हुन सकेको अवस्था छैन । तर पनि उनीहरुले कुनै न कुनै रुपमा यो संविधान र गणतान्त्रिक व्यवस्थाका बारेमा खबरदारी भने गरिरहेकै छन् । यही संविधान भित्रबाट निकास निकाल्न उनीहरुले साना ठूला स्वरमा आग्रह गरिरहेका छन् ।

सरकार निर्माणको बेला धेरै विचार गर्नुपर्ने हुन्छ । त्यसमा पनि अझ यो त कुनै सानोतिनो आन्दोलन भएर प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था होइन । यो असहज परिस्थितिको बेलाको सरकार हो जसले मुलुकलाई मिलाएर लैजान सक्नुपर्छ । अहिले देशमा आगो लागिरहेको छ र त्यसमा पानी हालेर मात्र पुग्दैन, पुनस्र्थापना पनि गर्नुपर्ने अवस्था छ । यसका लागि मुलुकबासी सबैको सहमति, सहकार्य र आपसी एकता आवश्यक छ ।

यस्तो अवस्थामा सेनाले नेतृत्व गरेर सरकार गठनको प्रक्रिया पनि अघि बढिरहेको छ । प्रधानमन्त्रीको नेतृत्वका लागि रस्साकस्सी सुरु भैसकेको छ । त्यसैले त्यसको निकास संविधान भित्रैबाट र व्यवस्थाभित्रै बाट खोज्नुपर्ने माग एकपछि अर्काे गरी अघि आइरहेको छ ।

यहाँनेर भदौ २३ र २४ गतेका दिनमा भएको विध्वंस कुनै एकपक्ष या समूहको अन्त्यको लागि नभएर मुलुकमा सुशासन र सामाजिक समानताका लागि थियो भन्ने विषयमा यतिखेर गम्भीर रुपमा विचार विमर्श गर्नुपर्दछ । होइन भने एकपक्षीय रुपमा गरिने निर्णय आदिले अर्काे विद्रोह जन्माउने खतरा पनि रहन्छ । त्यसैले संविधान र यही व्यवस्थाभित्रैबाट निकास खोजेर जेन्जीको माग अनुसारको सरकार निर्माण गर्नु जरुरी छ ।

जेन्जी आन्दोलनको एजेण्डा तत्कालीन सरकारको परिवर्तन थियो, व्यवस्थाको थिएन । २४ गतेको उदण्डताको कुरा नगर्ने हो भने उनीहरुले बानेश्वरबाट आन्दोलन सुरु गर्दा गणतन्त्र विरोधी नारा लगाएका होइनन्, यसको अर्थ हो व्यवस्थाका विरुद्धमा उनीहरुको आन्दोलन थिएन ।

त्यसैले पनि यही यही संविधान र अझ सहमति हुन सके संसद भित्रैबाट पनि अहिलेको निकास निकाल्न सकिएमा झन् राम्रो हुनेछ । अहिलेको जेन्जी पुस्तालाई पनि याद हुनुपर्छ कि साना दुःखले आर्जेको गणतन्त्र होइन, थिएन । यदि त्यसको पनि विकल्प दिने हो भने त्यसमा पनि राष्ट्रिय सहमति कायम गरेर दिन सकिन्छ ।

यो पुस्ता र उसको आन्दोलनलाई सम्बोधन गर्नका लागि पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपरे पनि पछि हट्नु हुँदैन । यही बेलामा राजनीतिक पार्टीहरूमा पनि व्यापक पुनर्गठनको अठोट सार्वजनिक हुनु जरुरी छ । जेन जिका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्नु त छँदैछ । यसो गरेर पनि सबै समस्याको समाधान चालु संविधानबाटै खोज्न सकिन्छ ।

संविधानभित्रैबाट समाधान खोजिनुपर्ने आवाज उठिरहेका बेला यो आवाजलाई कार्पेटमुनिको फोहर जस्तै गरेर छोप्दा त्यो भोलि गन्हाउन सक्छ । अर्थात यो आवाजले अर्काे विद्रोहको जन्म पनि दिन सक्छ । आखिर संसारको रित यही हो कि दबिएको आवाज भोलि गएर प्रतिशोध र विद्रोहको ज्वाला भएर निस्कन पनि सक्छ ।

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन । यस्तो अवस्था आउन नदिन के गर्न सकिन्छ भन्ने बारेमा आगामी निकासका लागि सहजीकरण गरिरहेको नेपाली सेना र राष्ट्रका अभिभावक राष्ट्रपतिले सोच्नुपर्दछ ।