२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नत प्रविधिबाट कृषि उत्पादन गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउने छः मुख्यमन्त्री बानियाँ



अ+ अ-

मकवानपुर। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्रामीण भेगका विपन्न कृषकलाई उन्नत प्रविधिबाट कृषि उत्पादनलाई अघि बढाउन प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ सहित कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा जिल्लाको थाहा नगरपालिकालाई पूर्ण संंस्थागत सुत्केरी नगर घोषणासभामा उहाँले आफ्नो सरकारले गाउँ र जनमुखी कार्यक्रमका साथ प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले जिल्लाको राक्सिराङ, कैलाश, मनहरिबाट रुपचन्द्र बिष्ट थाहामार्गलाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्रै निर्माणको थालनी गर्ने र जनतालाई स्वास्थ्य उपचारलगायत अन्य सेवा प्रवाह गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिलाई कृषि उत्पादनका लागि आवश्यक ऋण उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले यहाँ उत्पादन हुने मौसमी तरकारी, फलफूल र खाद्यान्नलाई बजारसम्म पुर्‍याउने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

थाहा नगरको विकास र राजनैतिक जनचेतनाको संवाहक स्वर्गीय रुपचन्द्र बिष्टको दुरदर्शी योगदान रहेको उल्लेख गर्दै सांसद बर्तौलाले ती क्षेत्रका विपन्न महिलालाई लक्षित गरी सुविधासम्पन्न अस्पताललगायत सेवा प्रदान गर्न गुरुयोजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मुक्तान, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपालीले आफ्नो धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्री बानियाँले थाहा नगरपालिका र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पालुङको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रमको शुभारम्भसमेत गर्नुभएको थियो । कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभयो ।रासस