३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा
फाइल फोटो
अ+ अ-
एजेन्सी । दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै नयाँदिल्लीमाथि सजायस्वरूप आयात शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने धम्की दिनुभएको छ ।
यस सम्भावित कदमले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको भविष्यलाई अनिश्चित बनाएको छ । भारतीय निर्यातकर्ताहरूले यसले अर्डर गुम्ने र रोजगारीमा गम्भीर सङ्कट आउने चेतावनी दिएका छन् ।
नयाँदिल्लीले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अस्वीकार्य’ भनेको छ । तर मोदीले गत हप्ता भारतको स्वतन्त्रता दिवसमा दिएको भाषणमा ‘आम मानिसमाथिको करको बोझ कम गर्ने’ वाचा गर्दै यस अमेरिकी प्रहारलाई कम गर्ने प्रयास देखाउनुभएको थियो ।
मोदीको प्रस्तावित वस्तु तथा सेवा कर (जिएसटी) कटौतीले साना कारदेखि वातानुकूलनसम्मका सामान उपभोक्ताका लागि सस्तो बनाउने अर्थशास्त्रीहरूको भनाइ छ ।
हाल जिएसटी प्रणाली एक जटिल चार–स्तरीय संरचनामा आधारित छ, जसमा कर दर पाँचदेखि २८ प्रतिशतसम्म लाग्छ । मोदीको सुधार अनुसार, अधिकांश सामान दुई तहमा पर्नेछन्— पाँच प्रतिशत वा १८ प्रतिशत दरमा ।
भारतीय प्रधानमन्त्रीले यस परिवर्तनलाई ‘दीपावली उपहार’ भन्नुभएको छ । दीपावली, प्रकाशको वार्षिक हिन्दू पर्व हो, जसमा उपभोक्ताहरू सुन, कपडा र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता सामानमा धेरै खर्च गर्छन् ।
– ठूलो बचत –
ट्रम्पको भन्सार शुल्क नीतिले भारतमा कस्तो असर पार्छ भन्ने कुरा रूस–युक्रेन शान्ति सम्झौतामा कति प्रगति हुन्छ र नयाँदिल्लीले अमेरिकी राष्ट्रपतिको अगस्ट २७ को समयसीमा अघि वैकल्पिक तेल आपूर्तिकर्ता पाउन सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्नेछ ।
विशेषज्ञहरूका अनुसार मोदीको कर सुधारले कर सङ्कलन १३ देखि १७ अर्ब डलरसम्म घटाउनेछ र यसले घरेलु माग बढाउन सहयोग गर्नेछ । एम्के ग्लोबल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले नीतिलाई ‘घरेलु उपभोग बढाउने दिशामा स्वागतयोग्य कदम’ भनेका छन् ।
उनीहरूको अनुमानमा, हाल शीर्ष २८ प्रतिशत दरमा रहेका धेरै सामानहरू १८ प्रतिशतमा झर्नेछन् भने १२ प्रतिशत श्रेणीका ‘लगभग सबै’ सामान पाँच प्रतिशत तहमा जानेछन् ।
मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले भने परिवर्तनहरूले धेरै क्षेत्रलाई लाभ दिने र घरपरिवारमा ‘ठूलो बचत’ ल्याउने बताएका छन् ।
तर प्रस्ताव कार्यान्वयन हुने–नहुने अन्ततः जिएसटी परिषद्मा निर्भर छ । यस परिषद्मा राज्य सरकारका प्रतिनिधिहरू रहेका छन् । उनीहरूले अघिल्ला वर्षहरूमा व्यापक सहमति बनाउन सङ्घर्ष गर्दै आएका छन् ।
विशेषज्ञहरूका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने सार्वजनिक वित्तीय स्थिति कमजोर हुनसक्छ । तर यसले अमेरिकी करको जोखिमलाई केही हदसम्म पन्छाउने र मध्यम वर्गमा मोदीको लोकप्रियता बढाउने सम्भावना पनि छ ।
यो प्रस्ताव यस वर्षको अन्त्यतिर हुने अपेक्षित बिहार चुनावअघि आएको हो । बिहार १३ करोड जनसङ्ख्या भएको ठूलो हिन्दू बहुल राज्य हो । बिहार मोदीका लागि प्रमुख राजनीतिक युद्धभूमि मानिन्छ ।
“अहिलेको चर्चित आर्थिक कथा भनेको ट्रम्पको ५० प्रतिशत भन्सार शुल्क र अमेरिका–भारत सम्बन्धमा देखिएको अवरोध हो”, जिन्दल ग्लोबल युनिभर्सिटीका अर्थशास्त्री दीपान्सु मोहनले भन्नुभयो, “जिएसटी पुनःसमायोजन त्यो सन्दर्भमा मोदीको कडा प्रतिक्रिया हो । मोदीले मध्यम वर्गलाई सन्देश दिइरहनुभएको छ– ‘हामी सुनिश्चित गर्छौं कि अन्ततः तपाईंको हातमा पर्याप्त बचत रहोस् ।’”
यद्यपि उहाँले भन्नुभयो, “यो भारतको अर्थतन्त्रले केही समयदेखि निम्न मध्यम आय वर्गलाई पर्याप्त फाइदा दिन नसकेको स्वीकारोक्ति पनि हो ।”
– भारत–अमेरिका व्यापार वार्ता –
अर्थशास्त्रीहरूले वर्षौंदेखि जिएसटी प्रणाली सुधारको माग गर्दै आएका थिए । तर मोदीको यो अप्रत्याशित घोषणा अमेरिका–भारत सम्बन्ध विगत केही दशककै तल्लो तहमा पुगेको समयमा आएको हो ।
अर्थशास्त्रीहरूले यदि दुवै देशबीच व्यापार सम्झौता भएन भने ट्रम्पको भन्सार शुल्कले भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर यस वर्ष छ प्रतिशतभन्दा तल झार्न सक्ने अनुमान गरेका छन् । यो दर भारतीय केन्द्रीय बैंकको छ दशमलव पाँच प्रतिशतको अनुमानभन्दा कम हुनेछ ।
हालका धेरै कार्गोहरू ट्रम्पको धम्की आउनुअघि नै सम्झौता भएकाले रूसी तेल आयातबारे भारतको स्थिति सेप्टेम्बरको अन्त्यसम्म प्रस्ट हुने व्यापार खुफिया संस्था केप्लरले बताएको छ ।
“भारतीय रिफाइनरहरूले अमेरिका, पश्चिम अफ्रिका र ल्याटिन अमेरिकी कच्चा तेलमा बढ्दो चासो देखाइरहेका छन् । यसले भारतको लचिलोपन देखाउँछ, तर यो कुनै जानाजानी गरिएको रणनीतिक परिवर्तन होइन”, केप्लरका विश्लेषक सुमित रिटोलियाले भन्नुभयो, “स्पष्ट नीतिगत परिवर्तन वा व्यापार रणनीतिमा निरन्तर बदलाव नभएसम्म रूसी तेल भारतको कच्चा तेल आपूर्तिको मुख्य स्रोत रहिरहनेछ ।”
भन्सार शुल्क वृद्धिको समयसीमा नजिकिँदै गर्दा अमेरिका–भारत व्यापार वार्ताको भविष्य अझै अनिश्चित छ ।
नयाँदिल्लीले सम्झौता गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर भारतीय सञ्चारमाध्यमले अमेरिकी वार्ताकारहरूले अगस्टको अन्त्यतिर हुने भनिएको भारत भ्रमण स्थगित गरेको दाबी गरेका छन् ।