८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा
अ+ अ-

झापा । मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ ।“गाउँमा हात्तीका हुल पस्छन्,” उहाँले भन्नुभयो,“परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं ।” उहाँले मात्र होइन, जंगल छेउका अधिकांश गाउँमा घरको सुरक्षाका लागि यस्तै तारबार लगाएको पाइन्छ ।

काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ । विद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ । हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ । “राति प्रवाह गरेको विद्युतको स्वीच अफ गर्न बिर्सदा गाउँघरमा मानिस नै दुर्घटनामा नपरेका होइनन्,” उहाँ भन्नुहुन्छ “हात्ती आइहाल्छ, धपाउने अरु उपाय नहुँदा किसानहरु जोखिम मोलेर भए पनि करेन्ट लगाउन बाध्य भएका हुन् ।”

स्थानीयले तारमा करेन्ट नलगाई पोलिथिनका झोला झुण्ड्याउने उपाय पनि लगाएका छन् । तारमा सेता झोला लहरै झुण्ड्याउँदा करेन्ट लगाएको ठानेर हात्ती घर र बारीतिर नपस्ने विश्वास रहेको चिमरिया बताउनुहुन्छ । तर बुद्धिमानी मानिएको हात्तीले स्थानीयबासीको हरेक अवरोध पार गर्न जुक्ति लगाउने गरेको छ । नजिकैको सुकेको रुखको दाउरा वा काँचो हाँगो भाँचेर करेन्ट प्रवाह भएको तारलाई भुइँमा लतार्ने नयाँ जुक्ति हात्तीले लगाउँदै आएको चिमरियाले बताउनुभयो । एकपटक करेन्टको झड्का लागेको स्थानमा हात्ती दोहोर्याएर नआउने हुँदा सर्वसाधारणले यही विद्युतीय असुरक्षित घेराबेराको सहारा लिदै आएका छन् ।

मेचीनगर नगरपालिका–४ की ६८ वर्षीया नरमाया कोइरालाले तीन हात्तीको हुलले घर भत्काएर भताभुङ्ग बनाएको बताउनुभयो । घर भत्किएपछि हात्तीबाट असुरक्षित भएको पीडा वडाध्यक्ष अर्जुन कार्कीलाई सुनाउन उहाँ वडा कार्यालयसम्म पुग्नुभयो । भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा डेढ दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २५ हात्ती मारिएका छन् ।

हात्ती धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर सर्वसाधारण, हात्ती र गाईबस्तु मारिने गरेका छन् । तर, विद्युतीय तारमा परेर मरेका व्यक्ति र हात्तीको यकिन तथ्यांक राखेको पाइएको छैन ।

मानव–हात्ती द्वन्द्वको विषयमा जानकार गोविन्द न्यौपानेले सुरक्षाका लागि भन्दै विद्युतीय तार बिछ्याउने कार्य एकदमै जोखिमपूर्ण रहेको बताउनुभयो । यसबाट मानवीय क्षति समेत भइरहेको उहाँले बताउनुभयो । “हात्ती प्रभावित बाहुनडाँगीमा अहिले चाहिँ यस्तो तार विछ्याउने गतिविधि हट्यो,” उहाँले भन्नुभयो– “बिगतमा धेरै मानिस र हात्तीले घर वरिपरि बिछ्याइएको विद्युतीय तारमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका छन् ।”

झापाको जंगल छेउछाउका बासिन्दाले तार या डोरीमा प्लास्टिकका पोकापोकी राखेर हात्ती तर्साउने गरेको जनाउँदै यसबाट पनि हात्ती नियन्त्रण प्रभावकारी नभएको उहाँको धारणा छ । “करेन्ट लगाएको ठानेर हात्ती तर्सेला कि भन्ने सर्वसाधारणको भ्रम मात्र हो यो,” उहाँले भन्नुभयो– “दशकौंदेखि मानिससँग संघर्ष गर्दै आएको हात्तीले कहाँ करेन्ट छ र छैन भन्ने सजिलै थाहा पाउँछ । मनको सन्तोष मात्र हो यो ।” जोखिम निम्त्याउने गरी गाउँभरि बिछ्याइएका विद्युतीय तारको बारेमा डिभिजन बन कार्यालय, जनप्रतिनिधि र संरक्षणकर्मीहरु बेखबर छैनन् । तर, हात्तीबाट जोगिने दीर्घकालीन उपाय कसैले दिन नसकेका कारण यसलाई निरुत्साहित गर्न कुनै निकायले सकेका छैनन् । “मानिसहरु आफू बाँच्न र आफ्नो धनसम्पत्ति जोगाउन जोखिम मोल्न बाध्य छन्,” न्यौपाने भन्नुहुन्छ– “यस्तो कार्यलाई निरुत्साहित गर्ने काम सरकारी निकायको हो । जनचेतना पनि जगाउन आवश्यक छ । तर, दीर्घकालीन रुपमा समाधान दिन नसक्नेहरु गाउँमा गएर घेराबारा नगर भन्नै सक्दैनन् ।”

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले सीमा क्षेत्र र जंगल बाहिर हात्ती छेक्न सरकारले नै विद्युतीय घेराबारा गरेको जनाउँदै निजी घरमा तार बिछ्याएर घेराबारा गर्ने कार्य बारे कुनै जानकारी नभएको बताउनुभयो । रासस