तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्लेस्थित कार्यालयका लागि महेन्द्रराज वाग्लेले एक रोपनी जग्गा दान गर्नुभएको छ ।
विद्युत् प्राधिकरणको कार्यालय नहुँदा भाडामा सञ्चालन भइरहेकाले भवन निर्माणका लागि जग्गा दान गरेको उहाँले बताउनुभयो । वाग्लेले सोही क्षेत्रमा खानेपानी कार्यालयका लागि पनि पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।
सोही स्थानमा प्रहरीचौकी, सामुदायिक प्रहरी सेवा केन्द्र, क्याम्पस, खानेपानी, साना किसान सहकारी, आमा समूहलाई कार्यालय स्थापना गर्न वाग्लेले जग्गा उपलब्ध गराउँदै आउनुभएको छ ।
मध्यनेपाल नगरपालिका–४ रम्घाका वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा विद्युत कार्यालयका लागि प्रदान गर्नुभएको हो । उहाँले गत वैशाखमा उक्त जग्गा विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका नाममा पास गर्नुभएको थियो ।
यसैबीच जग्गा दातालाई नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । वाग्लेलाई तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभएको हो । रासस










