२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालकै माटोको उपज आयुर्वेद चिकित्सा पद्धतिलाई कम महत्त्व दिइयो’



अ+ अ-

काठमाडौँ।  विगतमा अरु चिकित्सा प्रणालीभन्दा आयुर्वेदलाई कम महत्त्व दिएकाले आयुर्वेद क्षेत्र पछिपरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् ।

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाका वक्ताहरूले धेरै जडिबुटी हुने नेपालमा आयुर्वेदको राम्रो भविष्य भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा अर्जुन कार्कीले आयुर्वेदको सुरूवात नै हिमालय क्षेत्रबाट भएकाले प्रवर्द्धन यहीँबाट सुरू हुनुपर्ने बताउनुभयो । आयुर्वेद क्षेत्रलाई अहिलेसम्म कम महत्त्व दिएकाले यस क्षेत्रका सबै एकीकृत भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“आयुर्वेद विज्ञानको विज्ञान हो, चीनको परम्परागत चिकित्सा पद्धति आयुर्वेदबाट विकास भएको रहेछ, आयुर्वेदको अध्ययन, अनुसन्धान गरेर पश्चिमा देशका जर्नलमा प्रकाशन गर्नुपर्छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

आयुर्वेदका विज्ञ प्रा डा धनिकलाल भरखेरले नयाँ स्थापना भएको आयुर्वेद विश्वविद्यालयले शिक्षा, चिकित्सा र औषधि उत्पादनको काम एकसाथ गर्नुपर्ने बताउनुभयो । आयुर्वेद क्षेत्रका विज्ञ र यसलाई माया गर्ने धेरैले योगमाया आयुर्वेद विश्वविद्यालयले आयुर्वेदको विकासमा धेरै काम गर्ने विश्वास लिएको उहाँले सुनाउनुभयो ।

समाजका संस्थापक अध्यक्ष एवं आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा देवकला भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिका चिकित्सकबीच विभेद गर्न थालेपछि विसं २०६५ मा संस्था स्थापना गर्नुपरेको बताउनुभयो । त्यसबेला दुर्गम भत्तामा आयुर्वेद चिकित्सकलाई विभेद गरिएकामा समाजले नै समानता कायम गराएको उहाँले स्मरण गर्नुभयो ।

आयुर्वेदको अध्ययन गर्नेले आधुनिक चिकित्सा पद्धति पढ्नुपर्ने भएकाले धेरै मिहिनेत गर्नुपरे सरकारले विभेद गरेपछि समाजको स्थापना गरेर काम गरेको भण्डारीले जानकारी गराउनुभयो ।

आयुर्वेदका चिकित्सक डा शङ्कर गौतमले ‘नेपालमा आयुर्वेद, विद्यमान अवस्था, समस्या, सहकार्यको आवश्यकता र समाधान’ विषयक प्रस्तुति गर्दै अहिले प्रत्येक पालिकामा आयुर्वेद सेवा पुगेकाले अब यसको दायरालाई विस्तार गरिनुपर्ने बताउनुभयो । नेपालमा अहिले आयुर्वेदका १५ वटा विधाका विशेषज्ञ रहेको जानकारी उहाँले गराउनुभयो ।

समाजको तदर्थ कार्य समितिका संयोजक डा पुण्येश्वर केशरीले जडिबुटीको सङ्कलन र प्रशोधन केन्द्र बनाएर मात्र उत्पादन केन्द्र बनाएपछि नै आयुर्वेदको प्रवर्द्धन गर्न सकिने भनाइ राख्नुभयो । हाल नेपालमा आयुर्वेदका एक सय ८७ जना विशेषज्ञ चिकित्सक रहेकाले तिनलाई उपयुक्त काम गर्ने अवसर दिनुपर्नेमा  उहाँले जोड दिनुभएको थियो । रासस