२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी बजेट मैले ल्याएँको हो भन्ने प्रवृति अन्त्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चौकुने गाउँपालिका वडा न ६ वडा भवन उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः हेमन्त केसी/रासस
अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट मैले ल्याएको हो भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।

सुर्खेतपश्चिममा पर्ने चौकुने गाउँपालिका–६ स्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने विकास बजेटलाई मैले ल्याएको हो भनेर दाबी गर्ने बेथिति मौलाउँदै गएको बताए ।

गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने मुख्यमन्त्री कँडेलका भनाइ थियो । “सङ्घीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो । कसैको व्यक्तिगत सम्पति होइन,” उहाँले भन्नुभयो, “मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन ।”

उनका अनुसार योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी हुँदै आएको आएको छ । हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके नागरिकका निम्ति कार्यान्वयन भएका सबै आयोजना पनि दिगो हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले सोही क्षेत्रको निर्माणाधीन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गरेका थिए । उनले समयमै सडक निर्माणकार्य पूरा गर्न सम्बन्धित निर्माण व्यवसायीलाई र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरेका छन्।