८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

व्यक्तिगत स्वार्थले आन्तरिक किचलोमा राजनीतिक दल

व्यक्तिगत स्वार्थले आन्तरिक किचलोमा राजनीतिक दल
अ+ अ-

काठमाडौं । सत्ता सञ्चालन गर्ने, देशमा सुशासन कायम गर्ने, कानुनी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाउने राजनीतिक दलहरु एकपछि अर्को गर्दै किचलोमा फसेका छन् । नेताहरुको व्यक्तिगत स्वार्थका कारण दलहरु आन्तरिक किचलोमा फसेका हुन् ।

संसद्को सबैभन्दा ठूला दल नेपाली कांग्रेस, सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपादेखि दक्षिणपन्थी धारको नेतृत्व गर्ने राप्रपासम्म विवादै विवादले घेरिएका छन् । अझ मधेश केन्द्रित दल त झन् कहिल्यै मिल्न सकेका छैनन् । अहिले पनि त्यहाँको अवस्था त्यस्तै छ ।

संसद्को ठूलो दल नेपाली कांग्रेसमा अहिले बागमती प्रदेशमा रमिता चलिरहेको छ । आफ्नै नेतृत्वको सरकार ढाल्न कांग्रेसका प्रदेशसभा सदस्यहरु लागेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन नेता इन्द्रबहादुर बानियाँ सक्रिय छन् । संसदीय दलको नेताबाट लामालाई हटाइसकिएको छ । मुख्यमन्त्रीबाट हटाउन जोडघटाउ चलिरहेको छ ।

केन्द्रमा पनि कांग्रेसभित्रको विवाद चरम उत्कर्षमा छ । अनुशासनको कारबाहीमा परेका १८ मध्ये अधिकांश आफूनिकटका नेता–कार्यकर्ता परेपछि कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइराला असन्तुष्ट छन् । अनुशासनको कारबाहीले सभापति शेरबहादुर देउवासँग कोइराला समूहको मतभेद चर्किएको छ ।

अनुशासन समितिले १८ जना नेता–कार्यकर्तालाई कारबाही गरेको भोलिपल्ट असार २६ गते नेता कोइरालाले समूहको भेला डाकेका थिए । भेलाले संस्थापन पक्षले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको थियो ।

भेलापछि नेता कोइरालाले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए । उनले साउन १ मा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र साउन २ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रतिपक्षी दलका नेता र सत्ताको नेतृत्व गरिरहेको एमालेको सक्रिय राजनीतिमा फर्किन लालायित पूर्वराष्ट्रपतिसँगको भेटलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री दाहालसँग कोइरालाले गरेको भेटका कारण कांग्रेसको आन्तरिक राजनीति तरंगित भइरहेका बेला संस्थापन पक्षीय सात जना पूर्वपदाधिकारीहरू उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका थिए । भेलाले गठबन्धनको भावनाबमोजिम जनहितमा व्यापक काम गर्न सरकारलाई उपप्रधानमन्त्री सिंहमार्फत् सुझाव दिएको थियो ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र त झन् किचलो उत्कर्षमा छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको हो ।

एमाले केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपतिलाई पार्टीको सक्रिय राजनीतिमा फर्किने बाटो बन्द गरेपछि पूर्वराष्ट्रपति भण्डारीलाई फर्काउन चाहने पंक्तिमा व्यापक असन्तुष्टि छ । एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति भण्डारीले साउन ९ गते पत्रकार सम्मेलन गरेरै आफूलाई कुनै ‘मुट्ठीभर मानिस’ले रोकेर थाम्न नसक्ने चेतावनी दिइसकेकी छन् ।

एमालेभित्र भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेशलाई लिएर विवाद चुलिएको छ । पार्टी नेतृत्वले भण्डारीलाई संस्थागत रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक्ने प्रयास गरेको छ भने भण्डारीले सार्वजनिक रूपमा त्यसको कडा प्रतिवाद गरेकी छन् ।

आगामी भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा हुने एमालेको विधान महाधिवेशनमा समेत यो विषय उठ्ने छ । त्यसको प्रभाव आगामी ११ औं महाधिवेशनसम्म पर्ने निश्चित जस्तै देखिएको छ ।

सत्तामा रहेका दलहरुमा मात्र होइन, विपक्षीहरुको अवस्था पनि त्यस्तै छ । प्रमुख प्रतिपक्षको भूमिकामा रहेको तेस्रो ठूलो दल माओवादी केन्द्र कुन बेला विभाजित हुन्छ यकीन छैन । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो समय शक्ति संघर्ष चलिरहेको छ ।

कांग्रेस र एमाले मिलेर ०८१ असारमा सरकार गठन गरेपछि साउन १० गते माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । बैठकमा उपमहासचिव शर्माले पार्टी निमार्णसम्बन्धी नौ बुँदे प्रस्ताव पेस गरेका थिए । त्यही प्रस्तावपछि दाहाल र शर्माबीच द्वन्द्व सुरु भएको थियो ।

उपमहासचिव शर्मासँग द्वन्द्व बढ्दै गएपछि अध्यक्ष दाहालले पार्टी र नेतृत्वविरुद्ध भइरहेका योजनाबद्ध षड्यन्त्रहरू परास्त गर्न नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको अभिव्यक्ति दिइसकेका छन् ।

उपमहासचिव शर्माले पनि अध्यक्ष दाहालप्रति लक्षित गर्दै कम्युनिस्ट पार्टीभित्र जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँचेको टिप्पणी गरेका थिए । यसले माओवादी केन्द्रभित्र चर्को बिवाद भएको पुष्टि हुन्छ ।

अध्यक्ष दाहाल र उपमहासचिव शर्मा सार्वजनिक मञ्चमै आरोप–प्रत्यारोपमा उत्रिएपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू सामाजिक सञ्जालमार्फत् एक–अर्काविरुद्ध लेखिरहेका छन् ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि विवाद चुलिएको छ । सभापति रवि लामिछानेले जेल भित्रैबाट पार्टी चलाएको भन्दै आलोचना भइरहेको छ ।

संवैधानिक राजतन्त्र फर्काउने सपना देखिरहेको राप्रपा पनि बिग्रहको बाटोमा छ । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवल शमशेर राणाबीच आन्तरिक संघर्ष चर्किएको छ ।

महामन्त्री पक्षधरले अध्यक्ष लिङ्देनमाथि ‘स्वेच्छाचारी’को आरोप लगाइरहेको छ । विधानको व्यवस्थाअनुरूपको विधि, संख्या र सीमा नाघेर एकलौटी पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू थप्ने र हटाउने गर्न थालपछि लिङ्देनले यो आरोप खेप्नुपरेको हो ।

मधेश केन्द्रित राजनीतिक दलहरुको अवस्था झन् कमजोर छ । आन्तरिक लोकतन्त्रका नाममा दलहरु कलहमा फसेका छन् ।

२०७९ सालको निर्वाचनमार्फत् उदाएको नागरिक उन्मुक्ति पार्टी श्रीमान–श्रीमतीको कलहका कारण छिन्न–भिन्न अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफू घुस लेनदेनको आरोपमा मुछिएपछि शिव बास्तोलाई कार्यवाहक अध्यक्ष तोक्नुभएको छ । यसले पार्टीमा झन् विवाद सिर्जना गरेको छ । नाउपाले २०८१ असार १६ मा अध्यक्ष श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई नेता चयन गरेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी पनि विवादमा छ । लुम्बिनी प्रदेशमा एकै व्यक्तिलाई चार चार पटक मन्त्री बनाइएको तर अरुलाई बेवास्ता गरिएको आरोप नेतृत्वले खेप्नु परेको छ ।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आन्तरिक विवाद छ । जनमत पार्टीमा पनि अध्यक्ष सीके राउतको एकलौटी भएको भन्दै विरोध छ ।

लोकतन्त्र स्थापनाका लागि लडेका दलहरु अहिले आन्तरिक रुपमा कमजोर अवस्थामा पुगेका छन् । व्यक्तिगत स्वार्थ र नेताकेन्द्रित राजनीति हावी हुँदा दलहरुमा यो अवस्था आएको हो । दलहरु आन्तरिक विवादमा फस्दा जनताका सरोकार ओझेलमा परेका छन् । सरकारले पनि गति लिन सकेको छैन ।

प्रधानमन्त्री, मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेताहरु आफ्नै पार्टीको विवादमा केन्द्रीत हुँदा सरकारले प्रभावकारी काम गर्न नसकेको हो । अहिले जनताले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सेवाप्रवाहमा सुधारको माग गरिरहेका छन् । नागरिक दिनदिनै समस्यामा फरिसकेका बेला दलहरु भने आफ्नै आन्तरिक कारणमा रुमलिएका हुन् । यो अवस्था लामो समयसम्म गएमा दलहरुप्रति जनताको विश्वास अझ कमजोर हुनसक्छ ।