८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

  चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…

  चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…
अ अ+ अ-

भक्तपुर । चाँगुनारायण मन्दिरको उत्तरपट्टिको सत्तलको छेडोबाट सेतो क्यान्भासमा चर्चित कलाकार मुकेश श्रेष्ठ रङ पोत्न व्यस्त देखिन्थे । अन्तरराष्ट्रियस्तरमै ख्याति कमाइसकेका सूर्यविनायक नगरपालिका–१ सिरुटारवासी श्रेष्ठको क्यान्भासमा रङ पोत्न थालेको यो पहिलो दृश्य भने होइन ।

विश्वमा नेपाल चिनाउने हजारौँ क्यान्भासमा चित्र कोरिसक्नुभएका ४० वर्षीय मुकेशले एउटै चित्र २७ लाख रुपैयाँसम्ममा बिक्री मात्रै गरेनन् विभिन्न सात वटा देशमा नेपाल चिनाउने सयौँ चित्रहरु प्रदर्शनी गरिसक्नुभएको छ ।

श्रेष्ठले मन्दिरको काँखमा बसेर चाँगुनारायण नगरपालिका–१ स्थित मनोहरा फाँटमा देखिएका सुन्दर दृश्यहरुलाई क्यान्भासमा उतारेपछिको दृश्य अझै सुन्दर र मनमोहक देखिन्थ्यो । कलाकार मुकेशकै छेउमा मध्यपुरथिमि नगरपालिका बाडे निवासी जुजुभाइ बाँस श्रेष्ठ त्यसैगरी क्यान्भासमा चित्र उतार्न तल्लीन देखिनुहुन्थ्यो ।

प्रत्येक वर्ष वैशाख २ गते बोडेमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आठ पटक जिब्रो छेडाएर प्रसिद्ध कमाउनुभएको जुजुभाइको अर्को पहिचान चित्रकार पनि हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । धार्मिक सम्पदा, ऐतिहासिक एवं नेपाली जनजीवन झल्कने चित्र कोर्दै आउनुभएका उहाँले चाँगुनारायणमा मन्दिरको छेवैमा बसेर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलमा रहेको प्रसिद्ध सरस्वती मन्दिरलाई क्यान्भासमा उतार्नुभयो ।

पाठ्यक्रम विकास केन्द्रको नोकरीसँगै चित्रमै प्रसिद्धि कमाउनुभएका भक्तपुर नगरपालिका खौमाका अर्का कलाकार दिपेन्द्रमान बनेपालीले क्यान्भास रङयाउँदै तामाङ्ग सेलो गीतमा डम्बु बजाउँदै नृत्य गरेको आकर्षक चित्र उतार्दै गर्दा नजिकै चाँगुनारायणकै स्थायी निवासी सरोज लामिछानेले नगरकोट क्षेत्रमा पर्यटकमाझ चर्चित बनेको रानीझुला (लामो झोलुङ्गे पुल)लाई क्यानभासमा उतार्दा निकै आकर्षक देखियो ।
स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको भूकम्प अगाडिको होमस्टेलाई हुबहु उतारेर इतिहासलाई जीवन्त बनाउनुभयो । भूकम्पले भत्काएपछि पुरानो स्वरुप हटाएर बाँस्तोलाले गाउँको आधुनिक र ढलान घरमा देखिने होमस्टेलाई नभई पुरानो स्वरुपको होमस्टेलाई आकर्षक रुपमा चित्रमा उतार्नुभयो ।

चाँगुनारायण मन्दिर क्षेत्रमै छरिएर चित्र कोर्न व्यस्त देखिनुभएका पर्वत श्रेष्ठले सरस्वती स्थानमा रहेको महामञ्जुश्री मन्दिर, अशुराम खाईजुले नगरकोट भ्यू प्वाइन्ट, मङ्गलकृष्ण प्रजापतिले माउण्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले वाल्मिकेश्वर महादेव मन्दिर, दिपेशमान सिंप्रधानले बोझिनी ड्यामलाई चित्रमा निकै आकर्षक रुपमा उतार्नुभयो । कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजीवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मीगौतमले बुद्धलगायत विभिन्न चित्रहरु क्यानसमा उतार्नुभयो ।

आज भानुजयन्ती कला र साहित्यको महोत्सवमय 

विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा आज असार २९ गते भानु जयन्तीको अवसर पारेर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ निकै आकर्षक देखिन्थ्यो ।

कलाकारले चाँगुनारायण क्षेत्रका धार्मिक, ऐतिहासिक सम्पदाहरुको चित्र कोर्ने मात्रै होइन, काठमाडौँ राजधानी शहरबाट बिहान ९ बजे चाँगुनारायण मन्दिर परिसर पुग्नुभएका राष्ट्रियस्तरमा ख्यातिप्राप्त वरिष्ठ कवि एवं साहित्यकारहरुको जमघटले थप आकर्षित बनाएको थियो ।

पहिलोपटक मन्दिर पुग्नुभएका धेरै साहित्यकारहरुले कुन सम्पदाको कविता कोर्ने भन्ने छलफलसँगै मन्दिरको सेरोफोरोमा बाँधिएर कापीमा कलमले कविताका लाइनहरु कोर्न थाल्नुभयो । अनि बग्न थाल्यो कापीका सेता पानामा काला अक्षरका हरफहरु जसरी कलाकारले क्यान्भासमा चित्र कोरेर सरसर रङ पोत्दा देखिएका आकर्षक दृश्य जस्तै कविहरुका रचनाले पहिलोपटक चाँगुनारायण पनि फुरुङ्ग बन्यो ।

नेपालकै पुरानो ऐतिहासिक धरोहर एवं आस्थाका केन्द्रको रुपमा रहेको धार्मिक स्थल चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पु¥याउँदै विश्वका पर्यटकको पहिलो रोजाइ बनाउन आयोजना गरेको नगरपालिकाले भ्रमण वर्षअन्तर्गत सञ्चालन गरेका चित्रकला महोत्सवमा कोरिएका चित्रहरुको प्रदर्शनीले चाँगुनारायण आएका विदेशी तथा स्वदेशी पर्यटक एवं पाहुनालाई मात्रै नभई स्थानीयहरुलाई समेत प्रदर्शनीमा राखिएका चित्रहरुले नौलो अनुभूति दिइरहेको थियो ।

चाँगुनारायण मन्दिको प्राङ्गनमा चित्र हेर्दै कोरेका कविताहरुलाई चर्चित कविहरु डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, डा। सरोज धिताल, विमला तुम्खेवाले कविता वाचन गर्नु हुनेछ । उहाँहरुले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरु चाँगुनारायण मन्दिर, ज्योतिर्लिङेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशूल, रानीझुला, महामञ्जुश्री, वाल्मिकेश्वर, मुहानपोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायत विभिन्न चित्रलाई कवितामा उतार्नुभएको थियो ।

मन्दिर प्राङ्गणमा कोरिएका चित्र र कविताका सङ्गमलाई नियाल्दै मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायण पहिलोपटक कला र साहित्यको मिलन बिन्दु बनेर उत्सव मनाउँदा खुसी लागे बताउनुभयो । पहिलोपटक चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कला र साहित्यको सङ्गमले चाँगुनारायणको वर्णन चित्र र शब्दमा पाउँदा नौलो अनूभूति भएको उहाँको भनाइ छ । यस्ता कार्यक्रमको चर्चाले नै सम्पदाको पहिचान बढ्ने र पर्यटकलाई आकर्षित गर्ने उहाँले बताउनुभयो ।

प्रचारको दृष्टिकोणले चाँगुनारायण निकै पछाडि परेको बताउँदै चाँगुनारायण मन्दिर परिसरमा रहेको किलेश्वर महादेव मन्दिरका पुजारी शङ्कर भट्टले चाँगुनारायणको ऐतिहासिक, धार्मिक पक्षलाई विश्वमाझ प्रचारका रुपमा फैलाउने हो भने विदेशी पर्यटकको घुइँचो लाग्ने उहाँको बुझाई छ । चाँगुनारायण मन्दिर देशकै उत्कृष्ट धरोहर भएकाले यसको संरक्षण, सम्वद्र्धन र प्रचारका लागि स्थानीय सरकारले मात्रै नभई प्रदेश र केन्द्रीय सरकारले पनि चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्‍याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । त्यसै भ्रमण वर्षका अवसरमा चाँगुनारायणको प्रचारप्रसार र यसको महत्व विश्वमाझ पुर्‍याउने लक्ष्य कला र साहित्य महोत्सवले पूरा गर्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख खत्रीले भन्नुभयो, “कलाकारले उतारेका चाँगुनारायणभित्रका सम्पदासँगै पर्यटकीय क्षेत्रको चित्रहरुको प्रदर्शनी मात्रै नभएर यो एउटा वरिष्ठ कलाकार र साहित्यकारको कला एवं साहित्यिक भ्रमण पनि हो, मन्दिरमा एकपटक पनि नआउनुभएका कलाकार तथा साहित्यकारले मन्दिरको आँगनमा बसेर गहिरो रुपमा मन्दिरलाई नियाल्न पाउनु भएको छ त्यो पनि प्रचार हो, यो महोत्सव नौलो र फरक ढङ्गले चित्रकारसँग कविलाई जोड्दै पर्यटनको आगमनमा टेवा पुर्‍याउने कडीका रुपमा लिएका छौँ ।”

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी चाँगुनारायण नगरकोट भ्रमण वर्षमा चाँगुनारायणमा नौवटै वडामा सम्पदास्थलमा पर्यटक पुर्‍याउने लक्ष्यका साथ सुरु भ्रमण वर्षले १० लाख पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले चाँगुनारायण मन्दिरको प्राङ्गणमा उभिएर इतिहास, धर्म, कला, संस्कृति र सम्पदालाई कलाकारको कुची र साहित्यकारको कलमले उतार्ने कार्यले कला, कलाकार, साहित्य र साहित्यकारलाई पनि बडो उत्साह मिल्ने बताउनुभयो । चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन अझै पछाडि परेको अबस्थामा नगरपालिकाले भ्रमण वर्षको आयोजनाले पर्यटकीय गन्तव्यलाई बढाउदै पर्यटकीय बसाइलाई लम्ब्याउने गरी पर्यटकलाई आकर्षित गर्न भ्रमण वर्षको घोषणा गरिएको छ ।
यस्तो छ चाँगुनारायण मन्दिरएको ऐतिहासिक पक्ष

नेपालको प्रसिद्ध तीर्थस्थलमध्येको एक र प्राचीन पुरातात्विक शिलास्तम्भसमेत रहेको चाँगुनारायण मन्दिरको लिच्छवीकालीन राजा हरिदत्त वर्माले ईसापूर्व ३२३ मा निर्माण गरेको इतिहासमा उल्लेख छ । ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले उत्कृष्ठ मानिएको उपत्यकामा रहेको सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायाण पनि एक हो । सन् १९६९ मा युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो ।

चाँगुनारायणलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायणजस्ता नामले पनि चिनिन्छ । लिच्छवीकालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी रहेको र नेपाल भाषामा ‘चाँप’ लाई ‘च’ र ‘वन’ लाई ‘गुँ’ भन्ने गरिएअनुसार त्यो शब्द अपभ्रंश भएर चाँगुनारायण हुन गएको हो भन्ने भनाइ छ ।

यस मन्दिरको निर्माण लिच्छवीकालमा राजा हरिदत्त बर्माले गरेका भए तापनि अर्का राजा मानदेवले ५२१ सालमा चाँगुनारायण मन्दिरको गरुडको मूर्ति स्थापना गराउनुभएको थयो । चातुष्कोण आकारको दुई तलाको यस मन्दिरमा तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ भने यसै तल्लाको चार दिशामा चार ढोकाहरु रहेका छन् ढोकामा गङ्गा, यमुुना तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् । ढोकाहरुको माथि धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कँुदिएका छन् ।

मन्दिरको भित्री गर्भगृहमा गरुडासनमा विराजमा चतुर्बाहु, शङ्ख, चक्र, गदा र पद्मसमेतका आयुधहरु धारण गरेका भगवान नारायण नेर पूजा गरिन्छ भने बौद्धहरुले समेत हरिहर वाहन लोकेश्वरका रुपमा पूजा गर्दै आइरहेका छन् । मन्दिरको प्रवेशद्धारमा दायाँबायाँ ढुङ्गे हात्ती छन् । तीनद्वारमध्ये बीचकोमा ढलौटको तोरण रहेको छ । छानाको कुन एवं अन्य सीमान्त भागमा घण्टहरु एवं दियोहरुले गर्दा मन्दिर शोभायमान देखिन्छ । मन्दिरका टुँडालहरु बहुहस्त भएका देवदेवी एवं झल्लरहरु विशेष किसिमले सजिएको छ । मन्दिर बाहिर ढुङ्गे चोकहरुमा घण्टाहरु रहेको छ ।

मन्दिरमा १० फिट अग्लो स्तम्भमा ठूलो शङ्खलगायत विष्णुका अन्य प्रतीक चिन्हहरु राखिएका छन् । धातुकै सानो बारभित्र १७ औँ शताब्दीको भूपतिन्दै मल्ल तथा उनकी रानीको शालिक रहेका छन् । चोकमा मन्दिरभन्दा पर शृङ्खलाबद्ध रुपमा साना मन्दिर तथा प्राचीन मूर्तिहरु रहेका छन् । मन्दिरमा विभिन्न शताब्दीमा स्थापना भएका अवलोकितेश्वर, गरुड नारायण, दुर्गा, विष्णुका दुई मूर्ति, सूर्य, शिवलिङ्ग, गणेश, छिन्नमस्त लगायत थुप्रै प्राचिन एैतिहासिक सम्पदाले भरिपूर्ण छ ।

गोपालराज वंशावलीमा उल्लेख भएअनुसार इस्वीको १४औँ शताब्दीमा चारनारयण अर्थात काठमाडौँ उपत्यका भित्रका चाँगु, इचंगु, शेष र विशङ्खुमध्ये एक चाँगुनारयाण स्थापना भएको हो । काठमाडौँबाट करिब १६ किमी पूर्वभक्तपुर जिल्लामा रहेको यो मन्दिर समुद्री सतहबाट करिब पाँच हजार फिटको उचाइमाथि डाँडामा अवस्थित छ । रासस