काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरणको सहजीकरण गरिदिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेनले करिब आधा घण्टासम्म संवाद गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग गुहार मागेका हुन् ।
बालेनको सचिवालयले पूर्वराष्ट्रपतिले भेटघाटका लागि बोलाएको गएको जनाएको छ । उहाँहरुबीच पुरानै चिनजानसमेत हो ।
विगत एक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रमक रहेका बालेन्द्रले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर अड्किएको बजेट, पछिल्लो राजनीतिक परिस्थितिसहितका विषयमा कुराकानी गरेको खुलेको छ । त्यस क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहजीकरण गरिदिने आश्वासन दिनुभएको बताइएको छ ।
बालेनलाई भंगाल पुर्याउने काम भने काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गरेका हुन् ।
त्यस क्रममा बालेनले पूर्वराष्ट्रपतिलाई सरकारी सेवा–सुविधा ध्यागेकोमा बधाई दिएका थिए ।
यसैगरी अड्किएको बजेटबारे पनि बालेनले गुनासो राखेको बताइएको छ । उनले वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई फिर्ता पठाएर भए पनि बजेट ल्याउनेबारे सहजीकरणको अपेक्षा भेटमा गरेका थिए ।
असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने महानगरपालिकाले अहिलेसम्म सकेको छैन । विशेष गरी बालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट ल्याउन नसकिएको हो । यो महिनाभित्र बजेट ल्याउन नसके आगामी साउन १ गतेदेखि महानगरपालिकालाई आर्थिक संकट हुने छ । यही संकट टार्न बालेनले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर सहयोगको अपेक्षा गरेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको राजनीतिका फर्किएपछि भेटघाट पनि तीव्र पारेकी छन् । उनी यही असार १४ गते स्वर्गीय मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
भण्डारीलाई एमालेको भावी अध्यक्षका रुपमा समेत कतिपय नेताले हेर्न थालेका छन् । भण्डारीको सक्रियताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने तनाव भएको छ ।










