काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताउनु भयो । अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको जिकिर गर्नुभयो । निजामति विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उहाँले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले तपाईं हामी हे¥यौँ भने संविधानमा निर्दिष्ट गरेका मुलभुत मान्यतालाई इमान्दारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशिल र लोकप्रिय चिज उल्ट्याउने र त्यसलाई यही प्रतिक्रियावादी अनुकुल बनाउने कसरत वा लडाईं चलिरहेको छ । हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ, संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । सायद तपाईं हामी सबैलाई थाहा छ । अहिले जे भइरहेको देखिन्छ, अघि ईश्वरचन्द्रजीले भन्नुभयो नि, अहिले भइरहेको समितिका प्रतिवेदनहरुमाथि भएका छेडखानीहरु त्यो त्यस्तै हो । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ ।’
आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गर्नुभयो । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरुले नै शुरु गर्नुपर्ने बताउनु भयो ।










