२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न



अ+ अ-

राँझा । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् सोमबार पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसङ्ख्या लाभान्वित हुने अनुमान छ । नहरमा पानी छाडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकनसमेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छभने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ ।

भैरव सुभानी जेभी काठमाडौँले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०८० चैत १८ गते सम्झौता गरेकामा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । विक्रम संवत् २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । रु ३७ करोड ८२ लाख ८४ हजार ७३५ मा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य ‘फिनिसिङ’को काम मात्र बाँकी छ । बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो ।

राप्ती सोनारी–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माणसम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो । रासस




भर्खरै