काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको छ ।
मंगलवार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको हो । उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिनुभयो । अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताउनु भयो । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौं । यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौं । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’
मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको बताउनु भयो । उहाँकाअनुसार तीनतहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ । मंगलवारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको उहाँले बताउनु भयो । सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उहाँको भनाई छ ।










